भादगाउँ (भक्तपुर) । बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण एक महिने गुँला पर्व आज (शुक्रबार) देखि भक्तपुरमा धुमधामका साथ शुरु भएको छ। नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाइने यो पर्व आगामी भदौ ८ गतेसम्म चल्नेछ।
सांस्कृतिकर्मीहरूका अनुसार, ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ भएकाले नेपाल संवत्को नवौँ महिनामा मनाइने यो पर्वलाई गुँला पर्व भनिएको हो। यो पर्वमा मुख्यगरी नौ बाजा बजाउने परम्परा रहेको छ।
गुँला पर्व विशेषतः बौद्धमार्गीहरूको पर्व भए पनि यसमा अन्य धर्मावलम्बीहरू पनि उत्साहका साथ सहभागी हुन्छन्। पर्वको अवसरमा भक्तपुरका विभिन्न बहाः, बही, चैत्यलगायत मठमन्दिरहरूको परिक्रमा गर्ने प्रचलन छ। बौद्धमार्गीहरू दैनिक महाचैत्यको परिक्रमा गर्नुका साथै उपत्यकाका विभिन्न चैत्यहरूको पनि परिक्रमा गर्छन्।
यस पर्वको प्रमुख विशेषतामध्ये एक ‘न्याकुँ’ बाजा बजाउनु हो, जुन राँगाको सिङबाट बनाइन्छ। पछिल्लो समय धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा जस्ता विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलन बढेको छ। चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिकालगायतका देवीदेवताहरूको समेत परिक्रमा गरेर यो पर्व मनाइन्छ।