'फिफा फुटबल फर स्कुल' कार्यक्रमको भव्य शुभारम्भ, लाखौं विद्यार्थी लाभान्वित हुने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
12.7k
Shares
काठमाडौँ। करिब ७ लाख विद्यार्थीको खुट्टामा फुटबल पुर्याउने महत्त्वाकांक्षी उद्देश्यका साथ 'फिफा फुटबल फर स्कुल' कार्यक्रमको औपचारिक शुभारम्भ नेपालमा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी यसको औपचारिक सुरुवात गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपालमा फुटबलको विकासमा यो कार्यक्रमले नयाँ अध्याय सुरु गर्ने बताएका थिए। यस अवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई, तथा फिफा फुटबल फर स्कुलका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज लगायतको उपस्थिति थियो।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले यो कार्यक्रमले नेपाली फुटबलको विकासमा नयाँ अध्याय सुरु हुने आशा व्यक्त गरे। उनले आधारभूत सामग्री र प्रशिक्षण अभावका कारण फुटबलर बन्ने सपना बोकेका बालबालिकाका लागि यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। नेम्बाङका अनुसार, फिफाले युनेस्कोको सहयोगमा विश्वभरका करिब ७० करोड बालबालिकाको खुट्टामा फुटबल पुर्याउने अपेक्षा राखेको छ, जसमध्ये नेपालमा करिब ७ लाख विद्यार्थी लाभान्वित हुनेछन्।
फिफा फुटबल फर स्कुल कार्यक्रमअन्तर्गत ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयलाई ३२ हजार ६ सय ४० वटा फुटबल प्रदान गरिनेछ। एन्फाका महासचिव किरण राईका अनुसार, यो कार्यक्रमबाट ४ वर्षदेखि १४ वर्षसम्मका करिब ५-६ लाख विद्यार्थीको खुट्टामा फुटबल पुग्ने आशा गरिएको छ। करिब १५-१६ करोड बराबरको फुटबल प्रदान गर्न लागिएको र यस्ता कार्यक्रमले युवा खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।
यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई फुटबलमार्फत शारीरिक, मानसिक, सामाजिक र नैतिक विकास गराउनु हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिनेछ।
फिफाले यो कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ। साथै, यसले फुटबललाई शिक्षणको एक माध्यमका रूपमा प्रयोग गरी विद्यार्थीहरूलाई अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिताजस्ता महत्त्वपूर्ण सीपहरू सिकाउने अपेक्षा गरिएको छ।
फिफा फुटबल फर स्कुलको उद्घाटनका अवसरमा विभिन्न सांस्कृतिक र सांगीतिक प्रस्तुतिहरू दिइएका थिए। विभिन्न स्कुलका बालबालिकाहरूले नृत्य प्रस्तुत गरे भने गायिका आस्था रावतले सांगीतिक प्रस्तुति दिइन्।
उक्त उद्घाटन समारोहमा उपस्थित ६९ वटा विद्यालयलाई २५ वटाको दरले फुटबल पनि हस्तान्तरण गरिएको थियो। उपत्यकाका १०४ वटा विद्यालय यस कार्यक्रममा सहभागी हुँदैछन्। एन्फाका महासचिव किरण राईले उपत्यका बाहिर पनि छिट्टै यो कार्यक्रमअन्तर्गत फुटबल प्रदान गरिने जानकारी दिए।