भक्तपुरमा गाईजात्रा शान्तिपूर्ण र मर्यादित बनाउन नगरपालिकाको अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
725
Shares
भक्तपुर। यस वर्षको गाईजात्रा पर्व (सापारु) लाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा मनाउन भक्तपुर नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ।
साउन २६ गते आइतबार मनाइने यो पर्वलाई भव्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ।
भक्तपुर नगरपालिकाले आज आयोजना गरेको गाईजात्रा पर्वका सांस्कृतिक गुरु र कलाकारहरूको भेलामा नगर प्रमुख सुनिल प्रजापतिले जात्रालाई मर्यादित रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले गाईजात्रा पर्व भक्तपुरको सांस्कृतिक पहिचान झल्काउने राम्रो अवसर भएको बताए।
जात्रामा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको प्रतियोगिता गरिने पनि नगर प्रमुख प्रजापतिले जानकारी दिए। उनले विशेषगरी घिन्ताङघिसी नाच भक्तपुरको प्रमुख विशेषताका रूपमा रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई कला र संस्कृतिमा जोड्न सांस्कृतिककर्मीहरूले विशेष योगदान दिनुपर्ने बताए।
भक्तपुर नगरपालिकाले विद्यालयस्तरबाटै विद्यार्थीहरूलाई यहाँको कला र संस्कृतिबारे अध्ययन गराउने व्यवस्था गरेको छ। यसले गर्दा नयाँ पुस्ताले आफ्नो परम्परालाई बुझ्न र जोगाउन सक्ने विश्वास गरिएको छ।
गाईजात्राको दिनमा हुने घिन्ताङघिसी र माक प्याखँ लगायतका नाचहरूलाई कृष्णाष्टमीसम्म मूल्याङ्कन गरी परम्परागत तथा आधुनिक विधाका उत्कृष्ट प्रस्तुतीकरणलाई पुरस्कार वितरण गरिने नगरपालिकाले जनाएको छ।