arrow

भ्रष्टाचारले सीमा नाघ्यो – अध्यक्ष श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १७ शनिबार
rajendra-shrestha-82-4-17.jpg

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शनिबार काठमाडौँमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार उन्मुलन गर्न जरुरी रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने गरे पनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गरे । 

उनले भ्रष्टाचार बढ्नुको मुख्य कारण प्रत्यक्ष निर्वाचन प्रणाली रहेको बताए । करोडौँ पैसा खर्च गरेर निर्वाचन जित्ने र त्यसपछि मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडा अध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेको बताए । 

मन्त्रीहरुले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उनको निष्कर्ष छ । उनले भने, ‘आज देशमा भ्रष्टाचारले सीमा नाघिरहेको अवस्था छ । किन भ्रष्टाचार हुन्छ, त्यो भ्रष्टाचारलाई उन्मुलन गर्नुपर्छ । भ्रष्टाचारीको आँखै हेर्दिन जस्ता अनेकौँ कुराहरु भनिइरहिएको छ । मुखै हेर्दिन भनिएको छ । यसको मुख्य कारण भनेको एउटा निर्वाचन प्रणाली हो । जसमा प्रत्यक्ष निर्वाचनमा करोडौँ पैसा खर्च गरेर जितेर आउने, सावाँ ब्याज चाहीँ सांसद मन्त्री भएपछि विभिन्न पालिकाका, मेयर, अध्यक्ष वा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु भएपछि असुल्ने प्रवृत्तिले गर्दा यो समस्या जन्मिएको छ । निर्वाचन प्रणालीको कारण हो । अर्को भनेको मन्त्रीहरुले नीतिगत निर्णयमा सही गर्दछन् । कार्यान्वयन ब्युरोकेट्सहरुले गर्ने, आदेश दिने मन्त्रीहरु हुन्छ, भोलि कुनै फाइलमा समस्या भयो, भ्रष्टाचार भयो भन्ने आयो भने समाउने सचिव र सहसचिवहरुलाई हो । तर नेताहरु जो आदेश दिन्छन् र त्यसबाट पैसा कमाउँछ, कहिले ७० करोड हान्दिएको छु भन्छ, कहिले के भनिरहेको छ । कति टेप काण्डहरु भइरहेको हुन्छ, उनीहरु गिरफ्तार हुँदैनन् । जसले निर्णय गर्दछ, उसले नै जवाफदेहिता लिने हो भने नेताहरुले त्यस्तो गलत आदेश दिँदैनन् । यि कुराहरु सच्याएर जानुपर्छ ।’

अध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै अहिले फलानो राजनीतिमा आउनु हुन्छ कि हुँदैन भन्नेमा बहस भइरहेको बताए । एउटा नेता परिवर्तन हुने कुराले खासै फरक नपार्ने तर एजेण्डा लिएर अघि बढ्दा राम्रो हुने बताए । 

अहिलेको संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ