arrow

अमेरिकाद्वारा ‘एमआरएनए’ खोप परियोजनाको लगानी स्थगन

भविष्यमा कुनै आकस्मिक स्वास्थ्य संकट आएमा तत्काल प्रतिक्रिया दिन सक्ने क्षमतामा प्रभाव पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
usa-flag.jpg

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले ‘एमआरएनए’ प्रविधिमा आधारित केही खोप परियोजनाहरूको लगानी स्थगन गर्ने निर्णय गरेको छ। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (स्वास्थ्य मन्त्रालय) ले मंगलबार यो निर्णयको घोषणा गरेको हो।

स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियरका अनुसार, मन्त्रालयले करिब ५० करोड अमेरिकी डलर बराबरको लगानी २२ वटा परियोजनाहरूमा रोकेको छ। यी परियोजनाहरू कोभिड र रुघाखोकीजस्ता श्वासप्रश्वास सम्बन्धी रोगविरुद्ध खोप विकासमा केन्द्रित थिए।

मन्त्री केनेडीले भने, "विगतको अध्ययन र तथ्याङ्कका आधारमा यी खोपहरू माथिल्लो श्वासप्रश्वास प्रणालीमा लाग्ने संक्रमणहरूविरुद्ध अपेक्षित रूपमा प्रभावकारी नभएको देखिएको छ।"

नयाँ रणनीतिका अनुसार, अब सरकारको लगानी दीर्घकालीन प्रभावकारिता, पारदर्शी परीक्षण प्रक्रिया, र सार्वजनिक पहुँच हुने वैज्ञानिक जानकारीमा आधारित प्रविधिहरूमा केन्द्रित हुनेछ।

यद्यपि, केही सार्वजनिक स्वास्थ्य विज्ञहरूले यस निर्णयप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार, एमआरएनए प्रविधिले महामारीको समयमा खोप उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। यस्तो प्रविधिबाट पछि हट्दा भविष्यमा कुनै आकस्मिक स्वास्थ्य संकट आएमा तत्काल प्रतिक्रिया दिन सक्ने क्षमतामा प्रभाव पर्न सक्छ।

स्वास्थ्य मन्त्रालयले भने यो निर्णय वैज्ञानिक प्रमाण, दीर्घकालीन सार्वजनिक स्वास्थ्य सुरक्षा, र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यका साथ लिइएको स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ