पशुपतिको जग्गा अनियमिततामा संसदीय समितिको चासो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
679
Shares
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको जग्गामा भएको अनियमितताका विषयमा चासो देखाएको छ। बिहीबार समितिले पशुपति क्षेत्र र कोषको स्थलगत अवलोकन गर्दै जग्गाको भोगचलन र बिक्री वितरणबारे जानकारी लिएको हो।
कोषको जग्गा व्यक्तिलाई दिइएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हडपेको र अन्य व्यक्तिहरूले पनि जग्गा हडपेर बसेको गुनासो बढेपछि संसदीय समितिले यसबारे निरीक्षण गरेको हो।
स्थलगत अवलोकनका क्रममा समितिका सभापति राजकिशोर यादवले कोषका सदस्य-सचिवहरूलाई निम्न विषयमा प्रमाण उपलब्ध गराउन निर्देशन दिएका छन्:
अहिलेसम्मका सदस्य-सचिवहरूले कुन प्रयोजनका लागि कति जग्गा उपलब्ध गराए र त्यसको प्रमाणस्वरूप चिठीका प्रतिहरू। जग्गा दिँदा टेन्डर प्रक्रिया कसरी अपनाइएको थियो। कोषको मास्टरप्लान र गुरुयोजनासम्बन्धी विस्तृत जानकारी। पशुपति विकासका लागि कति जग्गा आर्जन गर्न खोजिएको हो र त्यसको वर्तमान अवस्था के छ। जग्गा हिनामिना र अनियमिततामा संलग्न व्यक्तिहरूका बारेमा जानकारी।
समितिले पशुपति क्षेत्र विकास कोषमा भएको अनियमितताबारे अध्ययन गर्न उपसमिति नै बनाएर अनुसन्धान गर्ने निर्णय पनि गरेको छ। सभापति यादवले अनियमितता गर्नेहरूलाई कानुनी दायरामा ल्याउने बताएका छन्।