महोत्तरी। साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने मिथिलाको प्रसिद्ध झुला पर्व सम्पन्न भएको छ। भगवान् विष्णु र भगवती लक्ष्मीको आराधना गरिने यो पर्व १३ दिनसम्म मनाइन्छ।
महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार, पूर्णिमाको मध्यरात कटेपछि झुलामा राखिएका देवदेवीको प्रतिमालाई झुलाएर पर्व सम्पन्न गरिएको हो। यस पर्वमा राम-सीता र कृष्ण-राधाका प्रतिमालाई विशेष कलात्मक झुला (पिङ) मा राखिन्छ र श्रद्धालुहरूले झुला गीत गाउँदै हल्लाउँछन्।
मिथिलामा यो उत्सव खासगरी जनकपुरधामको जानकी मन्दिर र मटिहानीको लक्ष्मीनारायण मठमा प्रसिद्ध छ। झुला, मल्हार र कजरी गीतहरूमा गाउँदै र नाच्दै मनाइने यो पर्व मिथिलाको विशिष्ट परम्परा हो। जानकारहरूका अनुसार, यो उत्सव वि.सं. १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गरेका थिए।
यो पर्वको अर्को महत्त्वपूर्ण पक्ष प्रकृति र किसानको सम्बन्ध हो। साउन महिनामा धान रोपाइँ सकिएपछि मौसम अनुकूल हुँदा किसानहरू आफ्नो मेहनतमा खुसी हुन्छन्। यही सुन्दर समयमा प्रकृतिसँग रमाउँदै मैथिलहरू आफ्ना इष्टदेवहरूसँग खेलेको अनुभूति सँगाल्न यो पर्व मनाउँछन्।
जनकपुरमा रामसीताको विवाह हुँदा दाइजोस्वरूप प्राप्त हीरा, रत्न र मणिमाणिक्यको थुप्रो रहेको विश्वास गरिएको मणिपर्वतको पूजा गरेर यो पर्व सुरु गर्ने परम्परा रहेको छ।