राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
1.9k
Shares
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन् ।
मनोनयनको लागि मंगलबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि समय तोकिएको थियो । निर्धारित समयमा सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।
संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर उनले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उनका प्रस्तावक कांग्रेस सांसद एवं निवर्तमान सभापति रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए ।
बुधवार बस्ने राज्य व्यवस्था तथा सुशासनको बुधबारको बैठकमा उनी सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।
यसअघि कुलिङ अफ पिरियड छेँडखानी प्रकरणमा संसदीय समितिले नैतिक एवं राजनीतिक जिम्मेवार ठहर गरेपछि रामहरि खतिवडा पदबाट राजीनामा दिएका थिए ।
यसअघि कांग्रेसले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बिहान बसेको पार्टीका शीर्ष नेताको बैठकले सो निर्णय गरेको थियो । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मा उपस्थित थिए ।