arrow

दैलेखमा पेट्रोलियमको ठूलो भण्डारण: उत्खननको तयारी र चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
dailekh-petroleum-.jpg

दैलेख। दैलेखको भैरवी गाउँपालिका-१, जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको ठूलो भण्डारण रहेको पुष्टि भएपछि यसको उत्खनन र व्यावसायिक उत्पादनको कामले तीव्रता पाएको छ। हाल अन्वेषण क्षेत्रमा चहलपहल कम भए पनि, सशस्त्र प्रहरी बलले सुरक्षा दिइरहेको छ।

खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले गरेको अनुसन्धानबाट जलजलेको पहिलो कुवामा मात्रै १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पाइएको छ। प्रारम्भिक अनुमान अनुसार, यस क्षेत्रका चारवटा कुवामा कुल ४३० अर्ब घनमिटर ग्यास हुन सक्ने प्रक्षेपण गरिएको छ, जसले नेपालको ५० वर्षसम्मको ग्यास आवश्यकता पूरा गर्न सक्ने सम्भावना छ।

पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी तथा भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार, अहिले चिनियाँ टोलीले नमूनाहरूको विश्लेषण गरी सन् २०२५ को डिसेम्बरसम्ममा अन्तिम प्रतिवेदन तयार गर्नेछ। उक्त प्रतिवेदन प्राप्त भएपछि मात्रै व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्नेछ।

सरकारले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन र पूर्वतयारी गर्न नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ। यो समितिले ग्यासको सदुपयोग, व्यावसायिक उत्पादनको सम्भाव्यता, आवश्यक पूर्वाधार र लागतका बारेमा अध्ययन गरिरहेको छ। समितिका संयोजक उपाध्यायका अनुसार, टोलीले जलजले क्षेत्रको स्थलगत अवलोकन गरिसकेको छ।

दैलेखमा पहिलेदेखि नै पेट्रोलियम पदार्थ रहेको अनुमान गरिए पनि २०७२ सालको नाकाबन्दीपछि सरकारले यसको उत्खननलाई प्राथमिकता दिएको हो। २०७५ मा नेपाल र चीनबीच भएको सम्झौताअनुसार चीनको पूर्ण अनुदान र आर्थिक तथा प्राविधिक सहयोगमा यो परियोजना सञ्चालन गरिएको थियो, जसको अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ। यस परियोजनाको सफलताले दैलेखसहित देशभरका नागरिक उत्साहित बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ