भगवान् शिवको क्रोधित अवतार स्वेत भैरवका खोलियो झ्यालहरू [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
832
Shares
काठमाडौँ । काठमाडौँ दरबार स्क्वायरस्थित हनुमान ढोकामा रहेको भगवान् शिवको एक अवतार भैरवको मूर्ति स्वेत भैरवलाई भगवान् शिवको सबैभन्दा क्रोधित र भयानक रूपको प्रतीक मानिन्छ ।
स्वेत भैरवको मुख यति डर लाग्दो देखिन्छ कि स्थानीय बासिन्दाहरूले यसलाई काठको झ्यालको चौखटभित्र राख्छन् । सामान्य दिनमा केवल एउटा सानो झ्याल मात्र भक्तजनका लागि खोलिन्छ।
तर विशेष अवसर इन्द्रजात्रामा भने सबै झ्यालहरू खोलिन्छन् । आज (योँसी उठाउने दिन) बाट यी झ्यालहरू खोलिएका छन् र सम्पूर्ण इन्द्रजात्राभर खुला रहने छन् ।
यस अवसरमा मूर्तिको मुखमा बाँस वा काठको पाइप राखी त्यसमार्फत चामलको रक्सी र ऐला भक्तजनलाई प्रसादका रूपमा बाँडिन्छ। यो प्रसाद पिउनाले स्वेत भैरवको आशीर्वाद प्राप्त हुने, स्वास्थ्य लाभ हुने र सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ।
आजको दिन झ्यालहरू खोलिसकेपछि चित्रकारहरूले स्वेत भैरवका आँखामा रंग भर्दै “देउताको आँखा खोल्ने” परम्परा पनि पूरा गर्छन् ।
स्वेत भैरवको यो विशाल मूर्ति देगु तलेजु मन्दिरको तल, काठको जालीभित्र लुकाइएको छ । यसलाई सन् १७९५ मा राजा रणबहादुर शाहको पालामा निर्माण गरी स्थापना गरिएको हो ।