arrow

प्राचीन सम्पदाको संरक्षणलाई सरकारले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
ramchandras-s.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गतको चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबैलाई समान अवसर प्राप्त हुने भएकाले यसको उपयोग गरी भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै सक्रिय हुनुपर्नेमा जोड दिए। उनले भने, "लोकतन्त्रको सुन्दर पक्ष नै यही हो।"

उनले नेपालका प्राचीन धरोहरहरूको अध्ययन र अवलोकन गर्न हरेक वर्ष लाखौँ पर्यटक नेपाल भित्रिने भएकाले सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताए।

राष्ट्रपति पौडेलले नेपाली कला, संस्कृति र सम्पदाको व्यापक प्रचारप्रसार गर्न सके स्वदेशी र विदेशी पर्यटकको ध्यान आकर्षित भई मुलुकको समृद्धिमा योगदान पुग्ने धारणा राखे। उनले नेपाली कलाकृति तथा सांस्कृतिक सम्पदाको ख्याति विश्वभरि नै रहेको उल्लेख गर्दै यो हाम्रो गौरवको विषय भएको बताए।

अन्त्यमा, उनले सदियौँ पुराना कला, संस्कृति तथा सम्पदाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने दायित्व सरकार, निजी संस्था र हामी सबैको भएको भन्दै सबैको सहकार्यले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशिला तयार हुने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ