सर्वोच्चमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ शुरु हुने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
558
Shares
काठमाडौं। सर्वोच्च अदालतले यही भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता र नियमित सुनुवाइ गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक पूर्ण बैठकले यो निर्णय गरेको हो।
हालै मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण अदालतमा भएको आगजनी, तोडफोड र लुटपाटप्रति प्रधानन्यायाधीश राउतले गहिरो दुःख व्यक्त गरेका छन्। उनले नागरिकको आस्थाको केन्द्र रहेको अदालतमा भएको आक्रमणबाट महत्त्वपूर्ण दस्तावेज, उपकरण, सवारी साधन लगायतमा ठूलो क्षति पुगेको र नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्तावेजहरू समेत नष्ट भएको बताएका छन्।
प्रधानन्यायाधीश राउतले यस्तो अवस्थामा पनि सार्वभौमिकता, संविधानवाद, विधिको शासन र मौलिक हकको सम्मान गर्दै न्यायको मार्गमा अविचलित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अदालतका मिसिल र भौतिक स्रोतसाधन जोगाउन सहयोग गर्ने न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, सुरक्षाकर्मी र सर्वसाधारण नागरिकहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेका छन्।
यस निर्णयसँगै अदालतले यथाशीघ्र न्याय सेवा सुचारु गर्ने दिशामा पहल थालेको छ।