दशैँका लागि सुकिला नोट वितरण शुरु, सर्वसाधारणको चासो कम [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
886
Shares
काठमाडौं। नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी सुकिला नोटको सटही शुरु गरे पनि यस वर्ष सर्वसाधारणको चासो कम देखिएको छ। राजनीतिक संक्रमणका कारण पनि नोट सटहीमा चहलपहल कम भएको अनुमान गरिएको छ। विगतका वर्षहरूमा नयाँ नोट लिनका लागि मानिसहरूको ठूलो भीड लाग्ने गर्थ्यो।
राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण गर्न शुरु गरेको छ र यो असोज १० गतेसम्म जारी रहनेछ। प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको एक प्याकेट सुकिला नोट सटही गर्न सकिने व्यवस्था गरिएको छ।
थापाथलीस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै प्रदेश कार्यालयहरूबाट नोट सटही भइरहेको छ। यसका साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट पनि सर्वसाधारणले सुकिला नोट सटही गर्न सक्नेछन्।
गत वर्षदेखि खर्च व्यवस्थापन गर्नका लागि भन्दै राष्ट्र बैंकले नयाँ नोट छाप्न बन्द गरेको छ। तर, यसपटक ५ रुपैयाँ दरको नोट भने नयाँ वितरण गरिने राष्ट्र बैंकले जनाएको छ। झुत्रा, जलेका र दाबी नोटहरूको सटही भने दशैंपछि मात्रै गरिनेछ।