नेपाली केरा उत्पादन पर्याप्त, आयात नगर्न व्यवसायीको अपिल
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
931
Shares
काठमाडौं। नेपाल केरा उत्पादक महासङ्घले दसैं, तिहार र छठजस्ता चाडपर्वका लागि नेपालमै उत्पादित केरा पर्याप्त रहेको भन्दै आयात नगर्न सार्वजनिक अपिल गरेको छ। महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई पत्राचार गर्दै यस्तो अनुरोध गरेका हुन्।
अनुरोधपत्रमा उल्लेख भएअनुसार, हाल नेपालमा केराको उत्पादन उत्साहजनक रहेको र चाडपर्वको माग धान्न सक्ने अवस्था हुँदाहुँदै पनि विदेशी केराको आयात निर्वाध रूपमा भइरहेको छ। यसले नेपाली किसान र अर्थतन्त्रमा नकारात्मक असर पुगेको भन्दै आयात नरोके आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।
महासङ्घले असोज ६ गतेभन्दा पछाडि भारतबाट कुनै पनि व्यापारीलाई केरा आयात नगर्न वा नगराउन अनुरोध गरेको छ। यदि यो अनुरोधलाई बेवास्ता गरी बलजफ्ती आयात गरिएमा नेपाली किसान वा समर्थकहरूले पुर्याउन सक्ने क्षतिको जिम्मेवारी महासङ्घले नलिने पनि स्पष्ट पारेको छ।
चितवन, कैलाली, कञ्चनपुर, बर्दिया र नवलपरासीका केरा उत्पादक समितिका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै केरा आयातमा तत्काल रोक लगाउन माग गरेका छन्। यस कदमले वैदेशिक व्यापार घाटा कम गर्न, रोजगारी बढाउन र नेपाली किसानलाई संरक्षण गर्न मद्दत पुग्ने उनीहरूको भनाइ छ।