अन्तर्राष्ट्रिय बुलेट बाइक यात्रा रहेकी ‘बुलेटे आमा’ ले प्रधानमन्त्री भेट्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
948
Shares
काठमाडौँ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ की बासिन्दा सुशीला उप्रेती तिवारी, जो ‘बुलेटे आमा’ का नामले चिनिन्छिन् ।
उनले असोज ४ गतेदेखि नयाँ अन्तर्राष्ट्रिय बुलेट बाइक यात्रा शुरू गरेकी छन् । नेपाली महिला सशक्तीकरण, संस्कृति तथा विश्वशान्तिको सन्देश लिएर उनले यस पटक इजरायलसहित अन्य देश भ्रमण गर्ने योजना बनाएकी छन् ।
६० वर्ष नाघिसकेकी ‘बुलेटे आमा’ ले यसअघि नै भारत, बङ्गलादेश, मलेसिया र थाइल्याण्ड भ्रमण गरिसकेकी छन् ।
बुलेट मोटरसाइकल चढ्दै ५७ भन्दा बढी जिल्लामा पुगेर नेपाली महिलाको साहस र क्षमताको परिचय दिइसकेकी उनले यसपटकको यात्रा झन् व्यापक र प्रभावशाली बनाउने लक्ष्य लिएकी छन् ।
यात्राको पूर्वसन्ध्यामा ‘बुलेटे आमा’ ले जेनजी आन्दोलनको क्रममा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भेटमा उनले वर्तमान राजनीतिक अवस्था, नेपाली महिलाको भूमिका, तथा सामाजिक विषयमा छलफल गर्ने बताएकी छन् । उनले वर्तमान राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएकी छन् ।
यसैबीच, काठमाडौँ महानगरपालिकाले बुलेटे आमाको योगदानलाई सम्मान गर्न विशेष कार्यक्रमको तयारी गरिरहेको छ ।
सामाजिक सञ्जालमा व्यापक समर्थन बटुलिरहेकी तिवारीको अभियानलाई स्थानीय तहदेखि अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।