arrow

फिल्मको लगानी उठाउन नसक्दा निराशा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
sushil-rajupadhyay.jpg

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा टिकाउ हुने वातावरण बन्न नसक्दा लगानीकर्तादेखि कलाकारसम्म निराश हुनेक्रम बढ्दो छ । त्यसमध्ये विभिन्न भाषा र समुदाय केन्द्रित फिल्म निर्माणबाट आशावादी हुने ठाउँ नै छैन । 

नेपालमा दर्शक संख्या पर्याप्त नहुँदा चलचित्र बनाउन लाग्ने लगानी पनि उठ्ने वातावरण रहँदैन । तर छिमेकी मुलुकमा भने सयौँ करोड लगानी हुने फिल्मलाई ‘ओहो कस्तो राम्रो’ भन्दै प्रशंसा गरिए पनि नेपालमा लाखौँको लगानीमा बनेको फिल्मले त्यस्तो प्रभाव पार्न सक्दैन । यहाँ राम्रो गर्नका लागि ठूलो लगानी गर्नुपर्ने हुन्छ तर लगानी उठ्ने वातावरण छैन, जसले गर्दा लगानीकर्ता डुब्ने अवस्था आउँछ ।

पहिले सीडी र भीएचएसमार्फत फिल्म बजारमा आउने परम्परा थियो तर पाइरेसीले लगानी सुरक्षित गर्न गाह्रो बनायो । अहिले हलमा जाने संस्कृति घट्दै गएको र मोबाइलले सबैलाई व्यस्त बनाउँदा  फिल्म हेर्ने स्थायी दर्शक वर्ग खुम्चिएको कलाकार एवं साहित्यकार सुशील राजोपाध्यायको बुझाइ छ । 

मुखले त गर्नुपर्छ भनिन्छ तर वास्तवमै चलचित्र र कलाकारिता क्षेत्रप्रति राज्य सकारात्मक नदेखिएको र सेन्सर पास गर्नसम्म ठूलो खर्च हुने अवस्था रहेको उनको गुनासो छ ।

राजोपाध्यायले आफ्नो कलाकारिता डबिङबाट शुरू भएको स्मरण गर्दै ‘जामन गुभाजु’ जस्ता फिल्महरूले आफूलाई पहिचान दिलाएको बताए । 

उनले भने, ‘मैले गरेकामध्ये एउटा जामन गुभाजु भन्ने फिल्म मान्छेले बेसी रुचाएको हो । मलाई क्यारेक्टरकै रूपमा जामन गुभाजु भनेरै सम्बोधन गर्न रुचाउने जमात पनि देखिएको छ ।’ 

फिल्मको मूल पात्र जामन गुभाजु र त्यो जामन गुभाजुकै क्यारेक्टर मैले गरेको कारणले गर्दाखेरि अनि मलाई चिन्ने मान्छेले जामन गुभाजुकै रूपमा चिन्न थालेको उनले बताए ।

उनले भने, ‘म सुशील राजोपाध्याय हो भनेर मान्छेले चिन्न जरुरी ठानेनन् । किनभने यो मान्छेले कुनैबेला चाहीँ जामन गुभाजुको क्यारेक्टर गरेका थिए भनेर मलाई त्यसरी पनि चिन्ने मान्छेहरू देखिएका छन् ।’

जामन गुभाजुमार्फत चार सय वर्ष पुरानो पात्रलाई अहिलेको समयमा जीवन्तता दिएर स्थापित बनेका उनी नेवारी संस्कार र संस्कृतिको जगर्नेमा पनि सक्रिय रहेको सुनाउँछन् । जामनः गुभाजु १७औँ शताब्दीका कान्तिपुरका राजा प्रताप मल्लका विश्वासपात्र सिद्धहस्त तान्त्रिक मानिन्छन् । 

सुशीलले ४० भन्दा बढी चलचित्र र दर्जनौँ नाटकमा अभिनय गरिसकेका छन् । नाटकमा दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया पाउने अवसर हुने भएकाले त्यो अनुभव अझै विशेष हुने उनले बताए । आजको सन्दर्भमा कलाकारितामा लाग्नेहरूलाई उनले चेतावनी स्वरुपमा भने, ‘यो क्षेत्रमा आउनु भनेको व्यक्तिगत फाइदाको लागि होइन, आफ्नो अठोट र सन्तुष्टिको लागि हो । सिकेर, जानेर आउनु उपयोगी हुन्छ तर केवल पर्दामा देखिनको लागि मात्र आउने हो भने यो क्षेत्रमा दुःख नगरे हुन्छ ।’

उनका अनुसार अहिले पनि केही संस्था नाटक र कलात्मक क्षेत्रमा सक्रिय छन् तर दर्शक पाउन कठिन भएकाले यस पेशामा टिक्न साहस र दृढ अठोट आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ