arrow

रौतहटको महेशपुरमा अति भारी वर्षा, उपत्यकासहित तराईका क्षेत्रमा जलस्तर उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
rain-van-82-6-18qq.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटको महेशपुरमा अति भारी वर्षा रेकर्ड भएको छ। पछिल्लो एक घण्टामा (दिउँसो ३ बजेदेखि ४ बजेसम्म) महेशपुरमा ९४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। सामान्यतया प्रतिघण्टा ६० मिलिमिटरसम्मको वर्षालाई सामान्य मानिने भए पनि महेशपुरमा तीन घण्टाको अवधिमा १ सय ६६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

आज शनिवार दिउँसो १ बजेदेखि ४ बजेसम्मको तीन घण्टाको अवधिमा बारा र पर्साका स्टेसनहरूमा पनि भारी वर्षा रेकर्ड भएको छ। यस क्रममा पर्साको मुडलीमा १ सय १९ दशमलव ६ मिलिमिटर, वीरगञ्जमा ९७ दशमलव ८ मिलिमिटर, बाराको कलैयामा १ सय १ मिलिमिटर र रौतहटको गौरमा १ सय ३२ मिलिमिटर वर्षा भएको छ।

यसैगरी, काठमाडौँ उपत्यकाको ललितपुरस्थित गोदावरीमा पछिल्लो १२ घण्टामा सबैभन्दा बढी १ सय ३ मिलिमिटर वर्षा भएको छ भने काठमाडौँको नैकापमा ८८ दशमलव ६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

तराई क्षेत्रमा अति भारी वर्षाका कारण बाढी र डुबानको जोखिम उच्च बढेको हुँदा स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ