नेपालको पश्चिमी भू-भागबाट मनसुन बाहिरियो, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
1.3k
Shares
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू-भागबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको छ। सामान्यतया अक्टोबर २ मा मनसुन बहिर्गमन हुने भए पनि यस वर्ष भने चार दिन ढिला गरी आजदेखि मात्र बाहिरिन थालेको विभागले जानकारी दिएको छ।
महाशाखाका अनुसार, मनसुन बाहिरिए पनि पश्चिमी वायूको प्रभावका कारण आज र मङ्गलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको छ।
ती प्रदेशका हिमाली, पहाडी र तराईका भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यसका साथै, हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले बताएको छ।
विभागका अनुसार, यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानबाट बाहिरिएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः मनसुन बहिर्गमन हुने समयमा सक्रिय हुने गरेको र यो वर्ष सरदर मितिभन्दा केही ढिला गरी मनसुन बहिरगमन भएको जानकारी दिएका छन्। उनले आगामी वर्षा र हिमपातले विशेष गरी कृषि र पर्यटन क्षेत्रमा प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।