arrow

अविरल वर्षापछिको विपद् व्यवस्थापनमा सरकारको सक्रियता, सर्वसाधारणले गरे प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
bp-highway-badhi.jpg

काठमाडौँ । गत शुक्रबार र शनिबार देशभर भएको अविरल वर्षाका कारण विपद्को उच्च जोखिम रहे पनि सरकारले पूर्वसूचना र उद्धार कार्यमा तदारुकता देखाउँदा मुलुक ठूलो क्षतिबाट जोगिएको छ। यस पटकको विपद् प्रतिकार्यमा विपद् पूर्वानुमान र सूचना प्रवाह दुवैमा राज्य संयन्त्रले सक्रिय भूमिका निर्वाह गरेको र जनताको साथमा ‘सरकार छ’ भन्ने अनुभूति गराएको सर्वसाधारणले बताएका छन्।

पहिलेका विपद् घटनाहरूमा सूचना ढिलागरी आउने र पूर्वतयारी सुस्त हुने गरेकोमा, यस पटकको सरकारले विपद् प्रतिकार्यमा नयाँ अभ्यास गरेको पाइयो। अन्तरिम सरकारका मन्त्रीहरू फिल्डमै उत्रिएर काम गरेका थिए। सरकारले लामो दूरीका सवारी साधनको आवातजावतमा रोक लगाउनुका साथै, उपत्यकातिर आउने सवारी साधनहरूलाई सुरक्षित स्थानमा होल्ड गराएर उचित व्यवस्थापन समेत गरेको थियो। दिनरात नभनी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उद्धार कार्यमा खटाइएको थियो।

दोलखाका तिलराज खतिवडाले दुई-चार दिनअगाडिदेखि नै सरकारी तवरबाट सूचना प्रवाह गर्ने र सतर्कता अपनाउन आग्रह गर्ने काम सराहनीय भएको बताए। उनले मन्त्रीहरू आफैँ फिल्डमा गएर सुरक्षाकर्मीहरूको मनोबल बढाएकोमा प्रशंसा गरे। झापाका रामचन्द्र रन्जितले दशैँ नभनी सरकारले राम्रो व्यवस्थापन गरेको र जनताको सुरक्षाका लागि राजमार्ग बन्द गर्ने कदम उचित रहेको बताए। शान्ता खरेलले पनि बाढी र नदीमा फसेकाहरूको उद्धार भइरहेको देख्दा खुशी लागेको र सरकार जनताको साथमा छ भन्ने महसुस भएको बताइन्।

यद्यपि, सर्वसाधारणको प्रतिक्रिया मिश्रित पाइएको छ। व्यापक श्रेष्ठले सरकारको कार्य राम्रो लागे पनि १८० दिन अवधि भएको सरकारले दुई दिन सार्वजनिक बिदा घोषणा गर्नुलाई भने हतारको निर्णय भन्दै आलोचना गरे। उनले बिदाले देशलाई नोक्सान हुने धारणा राखे पनि विगतको तुलनामा क्षति कम गराउन र सडक अवरोध खोल्न तदारुकता देखाएकोमा प्रशंसा गरे। अर्का सर्वसाधारण तुलसी घिमिरेले भने सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप लगाए। उनले काठमाडौँ उपत्यकामा केही राम्रो काम भए पनि उपत्यका बाहिर सोही अनुसारको भूमिका नखेलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ