मनसुनी विपद्मा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो, इलाममा सबैभन्दा बढी क्षति
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
1.3k
Shares
काठमाडौँ। पछिल्लो समयको मनसुनी विपद्मा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ विवरण अद्यावधिक गर्दै यो तथ्याङ्क सार्वजनिक गरेको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार यस विपद्मा परी सबैभन्दा बढी मानवीय क्षति इलाममा भएको छ। पहिरोमा परी इलाममा ३७ जनाको मृत्यु भएको छ। पहिरोका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या ३९ पुगेको छ, जसमा पाँचथर र काभ्रेमा पनि एक/एक जना रहेका छन्।
बाढीबाट पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा एक/एक जना गरी छ जनाको ज्यान गएको छ। यसैगरी, चट्याङबाट दुई र अविरल वर्षाले उदयपुरमा एक जनाको ज्यान गएको छ।
विपद्जन्य घटनामा हालसम्म छ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बाढीमा परेर रसुवामा चार र इलाममा एक तथा पहिरोमा परेर इलाममा एक जना रहेका छन्।
ती घटनामा हालसम्म २८ जना घाइते भएका छन्। पहिरोमा परेर इलाममा १०, पाँचथरमा दुई, ललितपुरमा दुई, भोजपुरमा तीन र खोटाङमा तीन जना घाइते भएका छन्। यसबाहेक उदयपुर, मकवानपुर, ताप्लेजुङ, धनकुटा र बारामा एक/एक जना पहिरोका कारण घाइते भएका छन्। अविरल वर्षाका कारण धनकुटा र बारामा एक/एक तथा बाढीबाट खोटाङमा एक जना घाइते भएका छन्।
प्राप्त विवरणअनुसार, विपद्ग्रस्त क्षेत्रबाट हालसम्म १८ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।