मुस्ताङ । मुस्ताङमा असोज महिनामा ७५ हजार पाँच सय ९९ पर्यटकले भ्रमण गरेका छन् । दशैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन ।
मुस्ताङको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरि र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न यहाँ पर्यटक आउने गरेका छन् ।
असोजमा बेनी-जोमसोम सडकमार्ग हुँदै ६५ हजार सात सय ४० आन्तरिक पर्यटक र नाै हजार आठ सय ५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी-जोमसोम सडकमार्ग हुँदै ४९ हजार तीन य ७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए ।
प्रहरी नायव उपरीक्षक लामाका अनुसार आन्तरिक तथा बाह्य गरी १४ हजार तीन सय ८९ पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यसमा १३ हजार नाै सय २९ आन्तरिक र चार सय ५० विदेशी पर्यटक रहेका थिए ।
गत वर्ष असोजमा कूल ५९ हजार आठ सय ३१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
सो अवधिमा ४७ हजार दुई सय ९३ आन्तरिक र १२ हजार पाँच सय ३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।
मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी २०दशमलव८५ प्रतिशतले पर्यटक सख्या घटेको देखिएको छ ।
मुस्ताङमा चालु आवको साउनदेखि असोजसम्ममा एक लाख १८ हजार छसय ८९ पर्यटक भित्रिएका थिए ।
साउनदेखि असोजसम्ममा ९१ हजार एक सय २५ आन्तरिक र २७ हजार चार सय ६४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार सात सय ७९ पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
सो अवधिमा पाँच लाख ५५ हजार तीन सय २६ आन्तरिक र एक लाख ५० हजार चार सय ५३ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्क छ ।