arrow

करातेकी सानुमायालाई राज्यको उपेक्षा: शून्य लगानीमै विश्व च्याम्पियनशिपमा पदक जित्ने अठोट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
sanumayas.jpg

काठमाडौँ। नेपालले तेस्रोपल्ट आईसीसी टी-ट्वान्टी विश्वकपमा छनोट हुँदा राज्यले खेलाडीहरूलाई ठूलो रकम (१९ लाख ५० हजार रुपैयाँ प्रतिखेलाडी) पुरस्कार दिने घोषणा गरेर प्रोत्साहन गर्‍यो । तर, ऐतिहासिक सफलता दिलाउने सामर्थ्य राख्ने अन्य खेल र खेलाडीहरूप्रति राज्यको दृष्टिकोण भने फरक देखिएको छ। विशेषगरी करातेकी खेलाडी सानुमाया थिङ ले आगामी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा हुने विश्व कराँते च्याम्पियनशिप खेल्ने तयारी गरिरहँदा राज्य र खेल निकाय बेखबर देखिएका छन्।

सानुमाया विश्व वरीयताको आधारमा छनोट भएकी हुन् र नेपाली करातेले पहिलोपटक छनोट चरण पार गरेर विश्व च्याम्पियनशिप खेल्दैछ। उनी विश्वका उत्कृष्ट २४ खेलाडीका रूपमा सिधै छनोट भएकी थिइन्, जहाँ उनको विधामा कुल ३२ खेलाडी खेल्नेछन्।

क्रिकेटका खेलाडीले ठूलो सफलतामा ठूलो रकम पाउँदा सानुमायाले भने पुरस्कार त परै जाओस्, म्याच एक्सपोजरका लागि आवश्यक सहयोगसमेत पाएकी छैनन् । प्रशिक्षक मण्डेकाजी श्रेष्ठले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाएर एक्सपोजर दिलाउने प्रयास गरे पनि सफल भएको छैन।

राज्यको शून्य लगानी र चासो नहुँदा पनि सानुमायामा भने पदक जित्ने छुट्टै जोश र आत्मविश्वास छ। उनी हाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कडा प्रशिक्षणमा छिन्। उनले देशमै गरेको प्रशिक्षणका भरमा ऐतिहासिक पदक जित्ने अठोट व्यक्त गरेकी छिन्। सानुमायाले भनिन्, "एशियन गेम्स खेल्ने लक्ष्य राखे पनि विश्व च्याम्पियनसिपमा छनोट हुँदा आत्मविश्वास बढेको छ। अब विदेशी भूमिमा तयारी गर्ने सोचमा नभई यहीँ प्रशिक्षण गरेर पदक जित्ने लक्ष्य छ।"

१३ औं सागका दोहोरो स्वर्ण विजेता तथा राष्ट्रिय टोलीका काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ले सानुमायाको क्षमतामा ठूलो आशा व्यक्त गरेका छन्। उनले पछिल्लो एक वर्षमा सानुमायाले धेरै सुधार गरेको र एसियन च्याम्पियनसिपमा उनले विश्व च्याम्पियनविरुद्ध देखाएको प्रदर्शनले ठूलो सम्भावना पलाएको बताए। यद्यपि, प्रशिक्षक श्रेष्ठले पनि अन्तर्राष्ट्रिय एक्सपोजरको कमी रहेको स्विकारेका छन्।

प्रशिक्षक मण्डेकाजीले विश्व च्याम्पियनसिपमा जित निकाल्दै पदक जित्ने र वरीयतामा पनि सुधार गर्ने हिसाबले तयारी भइरहेको बताएका छन्। मिसन–२०२६ को एशियन गेम्सका लागि पनि पदक जित्ने खेलाडी तयार पार्ने योजनामा प्रशिक्षक मण्डेकाजी र खेलाडी सानुमाया दुवै मिहिनेत गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ