काठमाडौं । पोखरा एभेन्जर्सले आगामी एनपिएल- सिजन २ को तयारीस्वरूप इंग्ल्याण्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ।
मङ्सिर १ देखि २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले ३२ वर्षीय रोसिङटनलाई आफ्नो शीर्षक्रम बलियो बनाउने उद्देश्यसहित टोलीमा समावेश गरेको हो। यो रोसिङटनको नेपालमा पहिलो प्रतियोगितात्मक सहभागिता हुनेछ।
घरेलु स्तरमा लामो क्रिकेट करियर बिताएका रोसिङटनले आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका थिए र पछि नर्थह्याम्पटनसायर तथा एसेक्समा सक्रिय रहे।
काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणीका खेल खेलेका छन् भने टी–२० फर्म्याटमा सयौँ खेल खेलेर करिब तीन हजार पाँच सयभन्दा बढी रन बनाएका छन्। दायाँ हाते ब्याटर र विकेटकिपरका रूपमा मैदानमा उनको तेज तर टिकाउ प्रदर्शनले टोलीलाई नियमित योगदान पुर्याउने र पावरप्लेमा तीव्र सुरुवात गराउने क्षमताका लागि उनी परिचित छन्।
रोसिङटनले विश्वभरका प्रमुख टी–२० लिगहरूमा पनि खेल्दै मूल्यवान अनुभव सङ्कलन गरेका छन्। उनले पाकिस्तान सुपर लिगमा कराची किङ्स, संयुक्त अरब इमिरेट्सको अन्तर्राष्ट्रिय लिग (आईएलटी–२०) मा दुबई क्यापिटल्स र इंग्ल्याण्डको द हन्ड्रेड लिगमा लन्डन स्पिरिटको प्रतिनिधित्व गरिसकेका छन्।
विशेषगरी दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स ईस्टर्न केपबाट खेल्दा पहिलो संस्करणमै उपाधि जित्न टोलीलाई सहयोग पुर्याएका थिए, त्यही क्रममा फाइनलमा उनले ३० बलमा ५७ रनको प्रभावशाली इनिङ खेलेका थिए। यी विविध अन्तर्राष्ट्रिय अनुभवले उनलाई विभिन्न परिस्थितिमा खेल्न र दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाएको छ।