काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा जारी छ । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ।
त्यस्तै बैठकमा पार्टीको महाधिवेशनको मिति तोक्ने विषयमासमेत गम्भीर छलफल भइरहेको बताइएको छ । यसअघि असोज २८ गतेदेखि शुरू भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ । कार्तिक १ गतेदेखि भने बैठक स्थगित गरिएको थियो । तिहार र छठ सकेर बैठक आजदेखि निरन्तर भएको हो ।
यो बैठकले महाधिवेशनको मिति तय गर्नेछ भने हालको राजनीतिक परिस्थितिसँगै अगाडि बढ्ने योजना बनाउने छ ।