arrow

हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदै

ओस्कार मनोनित निर्देशक भ्यालीका लागि नेपाल 'पहिलो प्रेम', डोल्पा 'सुन्दर कथा'

निर्देशक एरिक भ्यालीको अन्तर्राष्ट्रिय फिल्मलाई 'युनिभर्सल' बनाउने सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
aric-vally.jpg

काठमाडौँ। फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली, जो विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त छन्। उनले नेपाललाई आफ्नो 'दोस्रो घर' का रूपमा लिएका छन्। सन् १९९९ मा उनले निर्माण गरेको चलचित्र 'हिमालय क्याराभान' ओस्कार अवार्डका लागि मनोनयनमा समेत परेको थियो। 

एरिक भ्यालीले नेपालसँगको आफ्नो सम्बन्धलाई 'लभ एट फ्रस्ट साइट' का रूपमा अथ्र्याएका छन्। सन् १९७३ मा पहिलोपटक बनारसी बाटो हुँदै नेपाल भित्रिँदा यहाँका पाखोबारी, चिटिक्क घरहरू तथा पछाडि देखिने अद्भूत हिमालहरूको दृश्यले आफूलाई प्रेममा पारेको उनले स्मरण गरे। नेपालको संस्कृति आफ्नो लागि 'नयाँ संस्कृतिको खानीजस्तो' भएको र यो देशसँगको प्रेमानुभूति सधैँ रहिरहने उनले बताए।

उनका लागि डोल्पा अर्को सुन्दर प्रेम कथा हो। सन् १९८१ तिर पहिलोपटक डोल्पा पुग्दा डोल्पा विदेशीका लागि निषेधित जस्तो रहेको र त्यहाँ पुग्ने बित्तिकै आफूले अविस्मरणीय 'सांस्कृतिक झट्का  महसुस गरेको उनले बताए, किनभने त्यो समयको डोल्पा बाहिरी दुनियाँसँग अभ्यस्त थिएन। साथी थिन्ले (क्याराभान चलचित्रका मुख्य पात्र) को सुझावमा नै डोल्पाको जीवनशैली, कथा, संस्कृति र सङ्घर्षबारे गहन अध्ययन गरेर 'क्याराभानः हिमालय' निर्माण सुरु गरिएको हो। डोल्पावासीहरूको जीवनशैली प्रकृतिसँग निकट र निर्भर रहेको तथा उनीहरू बहादुर र परिश्रमी रहेका उनले उल्लेख गरे।

उनले ५० वर्षपछि डोल्पामा धेरै मौलिक कुराहरू बिलाएर गएको देखेका छन्। सडक पुगेपछि डोल्पा फेरिएको र मौलिक संरचनाहरू लोप भएको उनले बताए। यद्यपि, उनको मुख्य चिन्ता नेपाली युवायुवतीहरूको विदेश पलायन मा छ। ऊर्जाशील जनशक्ति नै रोजगारीको खोजीमा बाहिर गएपछि गाउँहरू रित्तिएको र गाउँमा वृद्धहरू मात्र बाँकी रहेको अवस्थाले नेपालको विकास कसरी हुन्छ भन्नेमा गम्भीर भएर सरकारले सोच्नु आवश्यक रहेको उनले सुझाव दिए।

आफ्नो फिल्म 'हिमालय क्याराभान' को स्क्रिप्ट लेख्नका लागि मात्र तीन वर्ष अध्ययन गरेको स्मरण गर्दै उनले नेपाली फिल्मलाई अन्तरराष्ट्रिय दर्शकसमक्ष पुर्‍याउनका लागि कथा 'युनिभर्सल' (विश्वव्यापी) हुनुपर्ने मुख्य सुझाव दिए। 'क्याराभान' को कथा वृद्ध र युवाबीचको 'पुस्तागत द्वन्द्व' र सङ्घर्षमा आधारित भएकाले यसले संसारका सबै दर्शकलाई आकर्षित गर्न सकेको उनले स्पष्ट पारे। उनले बलियो टिम र गहन अध्ययनको आवश्यकतामा पनि जोड दिए।

भ्यालीले आफ्ना फिल्महरूले नेपालप्रति विश्वको ध्यान खिच्न सफल भएको विश्वास व्यक्त गरे। तर, उनले नेपाल र नेपालीका पक्षमा काम गर्दा पनि नेपाल सरकारबाट फिल्मको प्रवर्द्धनका लागि सहयोग प्राप्त नभएको र उल्टै प्रवेषाज्ञा (भिसा) प्राप्तिमा पटकपटक समस्या झेल्नुपरेकोमा गुनासो व्यक्त गरे। तैपनि नेपालीहरूको माया र देशप्रतिको सद्भावका कारण आफ्नो कामले नेपाल र नेपालीका पक्षमा सधैँ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ