सभापतिज्यू, पदाधिकारीज्यूहरु, पूर्व पदाधिकारीज्यूहरु, केन्द्रीय समितिका अग्रज तथा साथी केन्द्रीय सदस्यज्यूहरु, प्रदेश सभापतिज्यूहरुमा जय नेपाल । आफ्नो धारणा राख्नुअघि सर्वप्रथम जेन-जी पुस्ताले भदौ २३ र २४ मा गरेको अकल्पनीय आन्दोलनको क्रममा साहदत प्राप्त गर्नुभएको सबै नागरिकप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उनीहरुका परिवारजनमा समवेदना प्रकट गर्दछु।
साथै सोही आन्दोलनका क्रममा घाइते भई उपचारमा रहेका सबैप्रति सहानुभूति जनाउँदै उचित उपचारको व्यवस्था तथा घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्दछु।
हाम्रो केन्द्रीय कार्यालय र देशभरका कैयन कार्यालयमा गरिएको आगजनी, तोडफोड र लुटपाटको भत्सर्ना गर्छु। पार्टी सभापति शेर बहादुर देउवा र उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य आरजू राणा देउवामाथि सांघातिक आक्रमण भई हाल उपचारका क्रममा सिंगापुर हुनुहुन्छ। म उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
समय बलबान कि सत्ता
गीतामा कृष्ण अर्जुन संवादका क्रममा एउटा प्रसङ्ग आउँछ समय बलवान कि व्यक्ति ? समयक्रममा अनेक बलबान व्यक्तिहरुको उदय हुन्छ । समयलाई नबुझी अघि बढे त्यस्ता बलबान व्यक्तिहरु पनि समयसँगै कसरी हराए महाभारतमा कैयन उदाहरण छन् ।
गीतकार राजेन्द्र रिजाल गायक दिपक खरेलको आवाजमार्फत भन्छन्, "समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ ।" भदौ २४ पछि तपाई हामी पनि एक्लै बस्दा सायद गीताको त्यो प्रसङ्ग र दिपक खरेलको गीतको याद आउँदो हो । अचानक सत्ताबाट सडकमा आइपुगेका हामीलाई पनि सयमले सत्तालाई कहाँ कहाँ पुर्याउँछ भन्ने भावको गीत मुखमा आउनु अन्यथा भएन ।
यो बैठकमा भएका कुरा सुन्दा अझै पनि समयको चेतलाई बुझ्ने प्रयास भएको मैले महसुस गर्न पाएको छैन। भदौ २३ अघि र पछिको समय र परिस्थितिको विश्लेषण गर्नुको साटो त्यसलाई बिर्सेर अघि बढ्ने प्रयासमा गरिरहेका छौँ ।
पार्टीले वर्तमानमा भोग्नुपरेका चुनौती र समस्या हल गर्न सामुहिक प्रयास गर्नुको साटो गुटगत स्वार्थबाट बाहिर निस्कन सकेका छैनौं। पटक पटक परिवर्तनका लागि भएका आन्दोलनको नेतृत्व गरेको कांग्रेस सहितकै देशका दलका विरुद्ध पहिलोपटक किन यति ठूलो विद्रोह भयो समीक्षा गरेर आगामी बाटो तय गर्नुपर्नेमा अहिले पनि वर्चस्वको लडाइँमा व्यस्त छौं किन ?
आक्रोश विद्रोहमा रूपान्तरण
बैठकमा जेन-जी आन्दोलन र विकसित राजनीतिक घटनाक्रमसँग जोडिएर कुरा उठेको छ। जेन-जी विद्रोह किन भयो यसको सघन समिक्षा हुनुपर्छ। जिम्मेवारीमा रहँदा हामीले कति नागरिकको अपेक्षामा खरो उत्रिएर काम गर्यौ यसको व्यापक चर्चा हुनुपर्छ । पछिल्ला तीस वर्षमा हाम्रा नेतृत्वमा बनेको होस् वा हाम्रो सहभागिता रहेको सरकारले सुशासन दिन, भ्रष्टाचार घटाउन, नातावाद कृपावाद हटाउन काम भएको नागरिकले अनुभूत गरेनन् ।
अर्थतन्त्र सबल बनाएर स्वदेशमै रोजगारी सिर्जना गर्ने भन्दा पनि यूवाहरुलाई विदेशमै पठाइ रेमिट्यान्स भित्र्याउने अर्थतन्त्रको पक्षपोषण गर्ने हाम्रो नीति देखियो। विचौलीया तथा कमिसन एजेन्टहरुले नेताहरुलाई अघि राखेर देश चलाए । स्वदेशमा संघर्ष गरिरहेका हुन वा विदेशमा अध्ययन तथा रोजगारीमा पुगेका नागरिकले नेता तथा तिनका परिवारको छोराछोरीको तुलना गर्दा आफूलाई साह्रै निरिह महसुस गरे। राज्यको साधन स्रोत राज्यसत्ताको वरिपरि रहेका विचौलिया, एजेण्ट, नोकरशाही, सभ्रान्त र केहि नेताहरुको इकोसिस्टम वरिपरि मात्र घुमिरहेको देखेपछि जो कोहीको मन पनि आन्दोलित हुने नै थियो।
यस्ता इकोसिस्टम अन्तर्गत रहेकाहरुको छोराछोरी र आफन्तको सार्वजनिक जीवनलाई जेन-जी पुस्ताले थुक निलेर टुलुटुलु हेरेर बसेन । पटक पटक व्यवस्था परिवर्तन भएपनि मुठ्ठीभरको मात्र अवस्था फेरिने तर हाम्रो किन फेरिन सकेन भनेर प्रश्न उठाइरह्यो। रुष्ट रहेको जेन-जी पुस्ता इकोसिस्टमका छोराछोरीलाई " नेपोकिड्स " र " नेपोबेबिज " नाम दिएर उनीहरुको भण्डाफोरमा उत्रियो । यसरी तिनले आफ्नो समकालिनहरुको मात्र भण्डाफोर गरेका थिएनन् उनीहरुले इकोसिस्टममा जोडिएका हर पात्र र प्रवृतीको भण्डाफोर गरेका थिए।
सुशासनको माग, भ्रष्टाचारको विरोध उनीहरुको मूल एजेण्डा थियो। ०६२-६३ सालको परिवर्तन नदेखेका पुस्ताले पुराना राजनीतिक दलहरुले शासन सत्ता चलाउन शुरु गरेको ०४६ साल यता सार्वजनिक पदमा आसिन सबैको सम्पति छानविनको माग गरे । आम नागरिकमा लोकप्रिय हुँदै गएको यो मागले जेन-जीलाई सडकमा ल्याउने अवस्था सिर्जना गर्यो। हाम्रै समेत सहभागितामा बनेको सरकारले सोसल मिडियामा सिर्जना गरेको अवरोधले आगोमा घीउ थप्ने काम भयो।
सडकमा आएका बिद्रोही जेन-जी पुस्ताले ३० घण्टामै करिव दुई तीहाइको सरकारलाई सत्ताच्यूत गर्दै भाग्ने अवस्थामा पुर्यायो। प्रधानमन्त्री, मन्त्रीहरु, नेताहरु कि सेनाको शरणमा कि आफन्तकोमा भूमिगत हुने अवस्था आयो । शान्त पार्ने प्रयास नभएको नागरिकहरुको आक्रोशको ज्वालाले देशै जल्यो। आज यस्को दोष बिद्रोही जेन-जी पुस्तालाई लागेपनि नागरिकमा भड्केको आक्रोशको ज्वाला समयमै शान्त पार्ने प्रयास नगरेको मूल नेतृत्व मूख्य दोषी हो। यदि देश जल्ने कुरामा कोहि असफल हो भने नागरिकलाई विश्वास र भरोसा दिलाएर आक्रोश शान्त गराउन पनि पहल नगरेको राजनीतिक दलका मूल नेतृत्व असफल भएको हो ।
पार्टीलाई इतिहासकै रक्षात्मक बनाउने नेतृत्वलाई नयाँ पुस्ताले कसरी सम्झने ?
सभापति शेर बहादुर देउवाले २०८२ असारमा आफ्नो रिटायरमेन्टको समय आएको संकेत गर्नुभएको थियो। असोजको अन्तिममा शुरु भएको यो वैठकमा सभापतिज्यूले कार्यवाहक दिएर जाँदै गर्दा पार्टीलाई एक ढिक्का बनाएर लान प्रष्टसँग भन्नुभएको छ।
असारको वैठकमै सभापतिज्यूलाई सम्वोधन गर्दै मैले भनेको थिए, "तपाईँको उमेर समूहदेखि जेन-जी हुँदै अल्फा पुस्तासम्मको भावना समेट्दै आम नागरिकको बीचमा फेरि पनि नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी बनाउने चुनौती छ । यो चुनौती पार्टीभित्र मर्यादा, अनुशासन र एकता बीना सम्भव छैन।"
सोही बैठकमै भनेको थिएँ, " जेन-जी पुस्ताको भावनालाई आत्मसात् गर्दै उनीहरुसँग सहकार्य गर्ने र विश्वासको पुनर्निर्माण गर्ने दिशामा केन्द्रीय कार्यसमितिले ठोस योजना ल्याओस् ।"
हामीसँग नयाँ पुस्ता जोडिन हिच्किचाइरहेको र पुरानो पुस्ता बिच्किरहेको कारण हामीले खोजौं भनेर सम्झाएको थिए । तर यी र यस्ता वैठकमा हामीले राखेको धारणा अरण्यरोदन मात्र हुँदै आयो । वैठकमा फगत धारणा मात्र राखिएको थिएन, कार्यक्रम ल्याएर सम्वन्धित पक्षलाई सम्वोधन गरियोस भन्ने आग्रह थियो। तर विडम्वना हाम्रो आवाजलाई एक कानले सुनेर अर्को कानले उडाइयो। केन्द्रीय समितिको बैठकमा राखिएको विषय त मतलब गरिँदैन भने नागरिकले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमममार्फत राखिएका धारणालाई समेटेर तपाई हामीले कहिले निर्णय गर्छौँ ?
सामाजिक सञ्जालमाथि अवरोध नगरियोस् भनेर हामीले गरेको आग्रहलाई नसुनिएपछि बाध्य भएर दबाब दिन सरोकारवाला पक्षसँग सडकमा पनि पुग्यौँ। सरकारले सामाजिक संजालमा लगाइएको अवरोध हटाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरायौं। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हिमायती नेपाली कांग्रेस आफ्नो मूल्य मान्यतामा कसैसँग सम्झौता गर्दैन भन्ने अपेक्षा विपरितका घटनाक्रम त्यसबेला भोग्नुपर्यो। आफ्नै नेता कार्यकर्ताका कुरा नसुन्ने नियति यहाँ पनि दोहोरियो । परिणाम हाम्रो अगाडि ताजै छ।
अप्ठ्यारो बेलामा सानो समूहमा मात्र सीमित नगरी वृहत् सहभागितामा बैठक गरी निर्णय गरियोस् भन्ने हाम्रो प्रार्थनालाई बेवास्ता गरियो। बरु पदाधिकारी, पूर्व पदाधिकारी, कार्यसम्पादन भन्ने नाममा तहगत अलमल गरियो। त्यस्ता वैठकले रगतको आहालमा डुबेको सरकारमा रहेका आफ्ना प्रतिनिधिहरुलाई समेत तत्काल फिर्ता बोलाएन, बरु सत्ताप्रति आशक्ति र सरकारको नेतृत्वकर्ताप्रति बफादारी देखाइयो। केन्द्रीय समितिको बैठक बोलाउन गरेको आग्रहलाई लत्याइयो ।
"अझै जेन-जीलाई नजर अन्दाज गर्ने हो भने सत्तामा बसेकाहरूले जिटी गुण्टा कसे हुन्छ" भनेर वाध्य भएर सामाजिक संजालमा धारणा राख्न पुग्नुपर्यो। प्रदर्शनमा उत्रिएका नागरिकको रगतको दाग लिएर सरकारमा बस्नु हुँदैन सरकारबाट अलग हुनुस् भन्दा पनि केका लागि अलमल गरेर बसेको ? पार्टीलाई किन अनिर्णयको बन्दी बनाएको ? पार्टीलाई इतिहासकै रक्षात्मक बनाउने तपाईहरुलाई आउने पुस्ताका कांग्रेसीहरुले कसरी सम्झने ?
कार्यकर्तालाई सुन्नुस्, नहेप्नुस्
परम्परागत मतदाता वर्गले चेतावनी दिइरहेको थियो । नयाँ पुस्ताको आक्रोशको कुरा पटकपटकका वैठकमा ल्याएर सुनायौं तर कानमा कपास खाँदेर बस्नुभयो। कार्यकर्तालाई अनुदानको बस्तु ठान्नुभयो। संवाद गर्नुभएन निर्देशन मात्र दिइरहनुभयो। पार्टीभित्रका नेपोकिड्स शैलीमा हुर्किएका नेताहरु अहिले पनि अनेक तरिकाले कार्यकर्तालाई अपमान गरिरहनुभएको छ ।
महाधिवेशन प्रक्रियामा अवरोध किन ?
क्रियाशील सदस्यताको विषयमा ३२ वटा परिपत्र पठाउँदा पनि मातहतका तहले समयमा काम गर्दैनन् भने त्यसको जवाफदेही को हुने ? अग्रज तथा नेता साथीहरुकै जिल्लामा क्रियाशील सदस्यता नटुंगेको कि टुंग्याउन नदिएको ? टुंग्याइएको ठाउँको फोन गरीगरी केन्द्रमा पठाउन किन रोकेको ? एकातिर प्रक्रियालाई अवरुद्ध गर्न लाग्ने अनि बाहिर चाहिँ महाधिवशेन गर्न समयले भ्याइँदैन भन्ने दोहोरो चरित्र किन देखाएको ? एमालेले पार्टी महाधिवेशनको मिति तोकेर तयारीमा जुटिसक्यो हामी भने मंसिरमा महाधिशवेशन गर्न सक्दैनौँ भ्याउँदैनौ भनेर किन हिँडिरहेको ? चुनावपछि मात्र महाधिवेशन भन्ने राग टिकट बाँड्नैका लागि हो भने प्रष्ट भन्नुपर्यो । होइन भने महाधिवेशन धकेल्नु पर्ने कुन प्रयोजनका लागि ? कुलिङ पिरियडमा किन नजरअन्दाज ?
पार्टी महाधिवेशन र स्थानीय तहको चुनावबीच कम्तिमा डेढदेखि २ बर्षको कुलिङ पिरियड राखेमात्र स्थानीय तहको चुनावमा हामीले राम्रो नतिजा ल्याउन सक्छौ त्यसको सकारात्मक प्रभाव संसदीय चुनावमा पनि पर्छ भनेर २ बर्षअघिको वैठकमा धारणा राखेको थिए । त्यसलाई पार्टी नेतृत्वले नजरअन्दाज गर्यो । महासमिति वैठक अघि महामन्त्रीले कार्यतालिका पेश गरेर महाधिवशेन सुनिश्चित गर्न खोजेको हाम्रो बुझाइ थियो । विडम्बना त्यो कार्यतालिका पछि गायव भयो । डेढ बर्ष अघि २०८२ मंसिरमा महाधिवेशन सुनिश्चित गर्न कुलिङ पिरियड सहित ल्याइएको त्यो कार्यतालिका के कारणले केन्द्रीय समितिमा रोकेको ? प्रत्येक चुनावमा नयाँ नेतृत्वसहित जाने पार्टी परम्परा विपरित यो पटक भने किन चुनाव पछि मात्र महाधिवेशन भनेर रट लगाइरहेको ? कसरी हामी यस्तो सेलेक्टीभ हुन सक्छौ ?
हाम्रै कारण विशेष महाधिवेशन
भदौ २३ यता देश, पार्टी, हामी सबै फरक परिस्थितिमा आइपुगेका छौ। व्यक्तिगत रुपमा हामी जति आहत छौ पार्टी पनि त्यतिकै आहत छ। यो परिस्थितिमा पार्टीमा परिवर्तन अनिवार्य शर्त भएको छ। पुराना भन्ने वित्तिकै दुत्कारिने अवस्था बनेको छ। बदलिएर आए मात्र अपनाउने नागरिक सन्देश सुन्नु हाम्रो वाध्यता हो। नीति र नेतृत्व परिवर्तन गरेर मात्र चुनावमा आउ भन्ने नागरिक र कार्यकर्ताको भावना सतहमा प्रकट भइरहेको छ। त्यसका लागि समयमै पार्टीको महाधिवेशन गर्न दवाव दिन देश तथा विदेशमा रहेका महाधिवेशन प्रतिनिधी नेता कार्यकर्ताहरुले विशेष महाधिवेशनको माग गर्ने अवस्था बन्यो।
कांग्रेसको इतिहासमै पहिलोपटक महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर बिशेष महाधिवेशनको माग भएको छ। विधानत ४० प्रतिशतले हस्ताक्षर सहित माग गरेमा गर्नैपर्ने वाध्यता रहेको विशेष महाधिवशेनका लागि २४८८ अर्थात् करिब ५५ प्रतिशतले हस्ताक्षर गरेर कार्यवाहक सभापतिलाई केन्द्रीय कार्यालयमा १०१ दर्ता नम्वरमा दर्ता गरि बुझाइएको अवस्था छ । यो अवस्थामा केन्द्रीय कार्यसमितिको यो वैठक सहभागि हामी सबैले विकेक पुर्याएर निर्णय लिनुपर्ने छ। अग्रज नेताहरुप्रति उच्च सम्मान व्यक्त गर्दै गर्दा पनि कतिपय घटनाक्रमले उहाँहरुप्रतिको विश्वास खण्डित हुने अवस्था सिर्जना भइरहेको छ।
अग्रज नेताहरुले कुरा मिलाउनुहोला भनेको त उल्टो द्धन्दमा लैजान खोज्नुभएको संकेत देखिन थालेको छ। असोजतिर संसद पुनर्स्थापनाको माग राख्ने नेताहरु अहिले महाधिवेशन धकेल्न पुनर्स्थापनाको माग छोडेर निर्वाचन प्राथमिकता हो भन्न थाल्नुभएको छ। चुनाव हर लोकतन्त्रवादीले स्विकार्ने विषय हो। तर त्यसका लागि पहिला पार्टीलाई ठीक ठाउँमा राखौ भन्ने न हो। यहाँ नेताहरुको हठसँग आम नागरिक र कार्यकर्ताको भावना मिल्न सकेको छैन। असोज २९ गते दर्ता भएको प्रस्ताव अनुसार पुष २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक वाध्यता हुँदाहँदै पनि हामी त्यसलाई नजरअन्दाज गर्दै हस्ताक्षरकर्ताहरुलाई अपमान गर्दै महाधिवेशन नै चुनाव पछि बैशाखतिर सार्ने प्रस्ताव गर्छौ भने यो भन्दा भद्धा मजाक के हुन्छ ?
कहिले महाधिवेशन प्रतिनिधीहरुको म्याद सकियो भन्देको छ। कहिले ५४ प्रतिशत भनेका न हुन सनाखत हुँदा आधा पनि हुँदैन भनेको छ। मिलाउने भन्दा पनि थप ध्रुविकृत गरेको छ। तपाईहरु विधान मान्नुहुन्छ भने मंसिरभित्र महाधिवेशन गर्न तयार हुनुस। विशेष महाधिवेशन टार्ने हो भने पुष २९ अघि १५औं महाधिवेशनको कार्यतालिकामा सहमति जनाउनुस् । नत्र विधानले वाध्य बनाउने विशेष महाधिवेशन रोक्न कसरी सक्नुहुन्छ जवाफ दिनुस् ।
तपाईहरुले कार्यसमितिमा रहेको बहुमतको बलमा रोक्नुभयो भनेपनि हस्ताक्षरकर्ताहरुले बिशेष महाधिवेशनको प्रक्रियामा गए भने त्यो अवस्थामा के हुन्छ सोच्नुभएको छ ? चुनाव अघि नियमित महाधिवेशन नगर्ने विशेषको पक्षमा निर्णय नगर्ने बिषयलाई प्रतिष्ठाको लडाइ बनाएर के गर्न खोजेको? कार्यवाहक सभापतिज्यू यसमा गम्भीर भएर सोचेर निर्णयमा पुग्न आग्रह गर्दछु। हामी तपाईंको साथमा छौँ।
पार्टीमा जेन-जीको प्रतिनिधित्व
वडादेखि जिल्ला तहसम्म ३० वर्षमुनिका पुस्तालाई प्रतिनिधित्व गराउने व्यवस्था हाम्रो विधानमा छ। विशेष महाधिवेशनबाट कार्यसमिति निर्वाचित भएर आएको अवस्थामा केन्द्रीय कार्यसमितिमा यो पटक मनोनित गरि यसपछिका नियमित महाधिवेशनमा विधान संसोधन गरि जेन-जी उमेर समूहको कम्तीमा १५ प्रतिशत प्रतिनिधि सुनिश्चित हुने व्यवस्था मिलाउन यो बैठकले संकल्प गरोस् ।
२०७९ असार बसेको वैठकमा नयाँ पुस्तालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन गरेको आग्रहलाई पुनः दोहोर्याउँदै ४० वर्ष मुनिका युवा पुस्तालाई कम्तीमा ५० प्रतिशत प्रत्यक्ष उम्मेद्वार बनाउने गरी योजना तय गर्न यो बैठकमा जोडदार माग गर्दछु ।
जेन-जी लक्षित पार्टी कार्यक्रम
२०८० साल पुषमा भएको वैठकमा नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकताको बारेमा लामै चर्चा गरेको थिए। २०८१ साउनमा भएको वैठकमा नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकताको बारेमा पुन: चर्चा गरेको थिए। सो वैठकमा धारणा राख्ने क्रममा भनेको थिए, " खासगरी यो वैठकमा प्रतिनिधित्व नभएको उमेर समूहको नयाँ पुस्ता आज तपाईं हामीप्रति आक्रामक छ ।
जस्लाई हामीले चिनेर पनि नजरअन्दाज गरेका छौँ । यही पुस्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरुले सबैभन्दा बढी बहकाइरहेको छ । हो यही कुराको उत्तर खोज्न पनि नयाँ पुस्ता लक्षित कार्यक्रम अझ सार्थक र सघन रुपमा ल्याउनु पर्दछ । पार्टीमा नयाँ पुस्ताको प्रवेशलाई बढाउने कार्यक्रमको डिजाइन गर्नुपर्यो । नयाँ पुस्तासँग कांग्रेस संवादमा जाने कार्यक्रम ल्याउनु जरुरी छ ।" भदौको घटनाक्रमबाट पाठ सिक्दै पार्टीका सांगठनिक अभियानमा नयाँ पुस्ता लक्षित कार्यक्रम ल्याउन आग्रह गर्दछु।
लोकतन्त्रका लागि अग्रज पुस्ताले कति मूल्य चुकाएको थियो यो जान्नु अघि नै त्यही पुस्ताले बाटो बिराउँदा विकृत भएको राजनीति र कुशासनको अनेक काण्ड देख्न अभिसप्त भएको नयाँ पुस्ता आज तपाइ हामीप्रति आक्रामक भएको हो । जस्लाई हामीले चिनेर पनि नजर अन्दाज गरेका थियौँ । ०८० पुसको बैठकमा राखेको त्यो भनाइ आज पनि सान्दर्भिक लागेर फेरि दोहोर्याएको छु। " हामीले नजरअन्दाज गरेको पुस्ता त्यो अरु कोही होइन तपाई हाम्रै भाइबहिनी र छोराछोरी हुन् तर ती आज किन हाम्रा कुरा भन्दा अरुका कुरा पत्याइरहेका छन् ?
किन तपाईंलाई मुख दिएर मन अन्तै दिइरहेका छन् ? कसरी यही पुस्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरुले सबैभन्दा बढी बहकाइरहेको छ ? फगत सूचना प्रविधिको प्रयोग गरेर कांग्रेसलाई रक्षात्मक बनाइयो भन्ने कुराको अर्थ रहन्न । नयाँ पुस्ता हो सूचना प्रविधिको प्रयोग जति गर्छ विवेकी पनि उत्तिकै छ। यो पुस्ता की तपाईंलाई कन्भिन्स गर्छ कि तपाईले उसलाई कन्भिन्स गर्नुपर्छ। तर हाम्रा गतिविधि, आचरण र व्यवहारका कारण यो विवेकी पुस्ता हामीबाट टाढा भइरहेको छ।"
०८० असोज ५ को वैठकमा नेतृत्वप्रतिको आशा निराशामा परिणत भइरहेको स्मरण गराएको थिए । पार्टीमा नयाँ पुस्ताको प्रवेश न्यून किन छ ? किन हाम्रा कार्यक्रममा यूवाहरुको संख्या घट्दो छ समिक्षाका लागि गरिएका आग्रह यो वैठकले नै गम्भिरतापूर्वक लिएन । विवेकसँगै विद्रोही चेत भएको र तीक्ष्ण बुद्धिको नयाँ पुस्ता हाम्रो प्राथमिकतामा हो भने नयाँ पुस्तासँग नेपाली कांग्रेस अभियान पनि तत्काल ल्याइयोस्, नयाँ पुस्तासँग कांग्रेस संवादमा जाने निर्णय होस् भन्ने हाम्रो आग्रहलाई हिजो बेवास्ता गरिए पनि यो बैठकले अपनाओस् ।
संविधान संशोधन
एमालेसँग सत्ता सहकार्य गर्दै गर्दा व्यवस्था, पद्धति, प्रक्रियामा सुधार गर्दै देशमा स्थिरता दिन संविधान संशोधन गरिने बताइयो । तर त्यसलाई सत्ताको भर्याङ चढेसँगै बिर्सिइयो । आज पनि नागरिकस्तरमा संविधान संशोधन एउटा मुद्धा जबर्जस्त बनिरहेको छ। यो मुद्धालाई सम्बोधन गर्न पार्टीले अहिले पनि विलम्ब गर्नुहुन्न। धन्यवाद । जय नेपाल। (नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राखेको धारणा)