ऐतिहासिक गहना पोखरीको पुनर्निर्माण थालियो [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
821
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ मा अवस्थित ऐतिहासिक गहना पोखरीमा पुनर्निर्माण कार्य शुरू गरिएको छ। कार्तिक १८ गते क्षमा पूजा गरेर कामको थालनी भएको हो ।
हाल पोखरी वरिपरि अस्थायी जस्ता राखेर ढाक्ने–छेक्ने तयारी भइरहेको छ भने पोखरीको पानी समेत निकास गरिएको छ। पोखरी वरिपरि जस्ता राख्ने तयारी पूरा भएपछि पुनःनिर्माण कार्य औपचारिक रूपमा पूर्ण रूपमा थालिने तय गरिएको छ।
यस अन्तर्गत वरिपरिका बारहरू हटाइने र सम्पूर्ण संरचना पुरानो शैलीमा पुनःनिर्माण गरिनेछ ।
करिब ५२ लाख रुपैयाँ लागतमा भइरहेको यो परियोजना काठमाडौं महानगरपालिकाको मातहतमा अघि बढाइएको हो। यस पुनर्निर्माणले गहना पोखरीलाई यसको प्राचीन स्वरूपमा फर्काउने र हाँडीगाउँको सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको छ।
गहना खोज्ने जात्राका लागि प्रसिद्ध यो पोखरी एक समय आफ्नो अनौठो बनोटका कारण विशेष अनुभव दिने स्थल मानिन्थ्यो। पुरानो संरचनाअनुसार पोखरीका किनारहरू तल र बीचभाग गहिरो बनाइएका थिए, जसले जात्रामा सहभागीहरूलाई बिस्तारै भिजाउँदै केन्द्रतिर लैजाने अनुभूति दिन्थ्यो।