एनपीएलको दोस्रो संस्करण शुरू, जनकपुर र काठमाडौँ मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
756
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण आजदेखि शुरू भएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिडिरहेका छन् ।
खेलमा टस जितेर काठमाडौँले पहिले बलिङ गरिरहेको छ । उद्घाटन खेल हेर्न प्रधानमन्त्री सुशीला कार्की पनि कीर्तिपुर मैदानमा पुगेकी छिन् । उनले प्रतियोगिताको उद्घाटन भएको घोषणा गरिन् ।
उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेकोले प्रहरीले टिकट नहुने दर्शकहरूलाई सुरक्षालाई मध्यनजर गर्दै खेल मैदान वरपर नआउन दिउँसै आग्रह गरेको थियो ।
साविक विजेता जनकपुर बोल्ट्सको टोलीमा वेस्ट इन्डिजका शिवनराइन चन्द्रपल मुख्य प्रशिक्षक र अनिलकुमार साह कप्तान छन् । मार्की खेलाडी आसिफ शेखसहित ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार, तुल मगर, मयन यादव, सचिन भट्ट, विकाश आग्री र आदित्य महताजस्ता नेपाली खेलाडीहरू समावेश छन्।
विदेशी खेलाडीतर्फ दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिर, श्रीलंकाका लाहिरु समारकून र संगीथ कूरे, अमेरिकाका लाहिरु मिलान्था र सञ्जय कृष्णमुर्ती तथा नामिबियाका जान निकोल लफ्टी रहेका छन्।
काठमाडौँ गोर्खाजको टोलीको नेतृत्व करण केसीले गरेका छन् र टोलीमा नेपाली राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक भारतका मोन्टी देसाई मुख्य प्रशिक्षक छन्।
नेपाली खेलाडीहरूमा भीम शार्की, शाहव आलम, दीपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम, उत्तम थापामगर, आकाश त्रिपाठी, तुलबहादुर थापा, सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।
विदेशी खेलाडीहरूमा इंग्ल्यान्डका जोन सिम्पसन, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, मिडल अर्डरका एरासमस र बेन चाल्र्सवर्थ, अमेरिकाका मिलिन्द कुमार र भारतीय सन्नी पटेल रहेका छन् ।