काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (मङ्गलबार) दुई रोमाञ्चक खेलहरू हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्स भिड्नेछन्।
दोस्रो खेलमा भने सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्स र कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। सोमबार उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुवात गरिसकेको छ।
आज मैदानमा उत्रने चारवटै टोलीको लक्ष्य प्रतियोगितामा सुखद सुरुआत गर्ने रहेको छ।