सहकारी संस्थाको दर्ता अभिलेखीकरण शुरु, प्राधिकरणले बनायो नयाँ सफ्टवेयर
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
850
Shares
काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण शुरु गरेको छ।
प्राधिकरणले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरी दर्ता प्रक्रियाको थालनी गरिएको जानकारी दिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाई कार्यान्वयन गर्ने कार्य शुभारम्भ गरिएको जानकारी दिए। उनकाअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू प्राधिकरणले तोकेबमोजिम प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ। सहकारीको वर्गीकरण, नियमन, अनुगमन र सुपरीवेक्षणलाई व्यवस्थित बनाउन र सहकारीको डेटा प्राधिकरणमा राख्ने अभिप्रायले यो अभिलेखीकरण शुरु गरिएको उनले बताए। सहकारीहरू यसअघि नै सरकारको कुनै न कुनै निकायमा दर्ता रहे पनि प्राधिकरणले डकुमेन्टेसनका लागि दर्ता अभिलेखीकरण गर्न लागेको उनले स्पष्ट पारे।
प्राधिकरणले कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा संस्थाको वर्गीकरण गरी सञ्चालन इजाजतपत्र दस्तुर तोकेको छ। सहकारीहरूले १ हजारदेखि १५ हजार रुपैयाँसम्म इजाजतपत्र दस्तुर तिर्नुपर्ने हुन्छ। उक्त इजाजतपत्र प्रत्येक वर्षको श्रावण मसान्तभित्र नवीकरण समेत गर्नुपर्ने व्यवस्था दर्ता अभिलेखीकरण मापदण्डले गरेको छ।