सहकारी विभागमा छ हजार बचतकर्ताको उजुरी, पाँच अर्ब २७ करोड फिर्ता गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
260
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा आफ्नो बचत रकम फिर्ता गराई पाउन आवेदन दिने बचतकर्ताहरूको सङ्ख्या ६ हजार पुगेको छ। विभागका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म ती बचतकर्ताहरूले कुल ५ अर्ब २७ करोड रुपैयाँ बचत रकम फिर्ताका निम्ति आवश्यक पहल गरिदिन माग गर्दै उजुरी दर्ता गराएका हुन्।
पछिल्लो समय महानगरको सहकारी विभागमा रकम फिर्ताको माग गर्दै निवेदन दिनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। विभागका प्रमुख ध्रुवकुमार काफ्लेले अहिले दैनिक रूपमा करिब ३० जनाले उजुरी दर्ता गराउने गरेको जानकारी दिए। उजुरी दिनेहरूमा धेरैजसो १ लाखदेखि ५ लाख रुपैयाँसम्म जम्मा गर्ने साना बचतकर्ताहरू रहेका छन्।
महानगरपालिकाले प्राप्त उजुरीहरूका आधारमा समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गराउने प्रक्रियालाई तीव्र रूपमा अघि बढाएको छ। केही दिनअघि मात्रै कामपाले 'बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड' मार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गराइसकेको छ। उक्त सहकारीले १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने सदस्यहरूको रकम फिर्ता गरेको हो।
विभाग प्रमुख काफ्लेका अनुसार आगामी एक महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने अन्य बचतकर्ताहरूको पनि रकम फिर्ता गराउने योजना रहेको छ। ठुला बचतकर्ताहरूको हकमा भने सहकारीको ऋण असुली प्रक्रियालाई अघि बढाउँदै बचत फिर्ता गराउन समन्वय भइरहेको उनले स्पष्ट पारे।
हाल सहकारी विभागले उजुरी दर्ता गर्ने, सहकारीका सञ्चालक र बचतकर्ताहरूलाई एकै ठाउँमा राखेर छलफल गराउने तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ। यदि छलफलका क्रममा सञ्चालक र बचतकर्ताबीच सहमति हुन नसकेमा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी तथा सम्बन्धित निकायमा सिफारिस गरिने विभागले जनाएको छ।
हाल काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुल १ हजार ९१२ वटा सहकारी संस्थाहरू दर्ता रहेका छन्। तीमध्ये केवल ५० प्रतिशत सहकारीले मात्रै नियमित रूपमा आफ्नो वार्षिक साधारणसभा (AGM) सम्पन्न गरी विभागमा प्रतिवेदन पेस गर्ने गरेका छन्। महानगरपालिकाले दर्ता भएर पनि नियमित रूपमा साधारणसभा नगर्ने र कानुनी दायित्व पूरा नगर्ने त्यस्ता सहकारीहरूमाथि अब कडा कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ।