arrow

कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
deuba-congress-meeting-82-6-28.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने गरी डाकिएको बैठक स्थगित गरिएको हो । 

बिहीबार बस्ने बैठक अब शुक्रबारलाई सारिएको कांग्रेस स्रोतले जनाएको छ । बैठकमा पार्टीको महाधिवेशन गर्नेबारे निर्णय गरिने जनाइएको छ । 

गत असोज २८ गतेदेखि निरन्तर बसेको केन्द्रीय कार्यसमिति बैठक गत मंसिर ६ गते महाधिवेशन गर्ने मिति नै नतोकी सम्पन्न भएको थियो । 

त्यसपछि कांग्रेस संस्थापनका नेताहरुले फागुन २१ गतेको चुनावपछिमात्र महाधविशेन गर्ने भनी प्रचार गरेका थिए । 

त्यसको प्रतिवाद गर्दै चुनावअघि नै महाधिवेशन गरी नयाँ नेतृत्व र नयाँ एजेन्डासहित चुनावमा जानुपर्ने भनी विशेष महाधिवेशनको माग गर्ने पक्ष सक्रिय भएको छ । 

उक्त पक्षले बुधबार मात्रै विशेष सभाको आयोजना गरी नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ । 

गत असोज २९ गते नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन बोलाउन गरेको आग्रहलाई नेतृत्वले लत्याएपछि अहिले आन्तरिक किचलो तीव्र भइरहेको छ । 

पार्टीको विधानलाई टेकेर विशेष महाधिवेशनको माग गरिएको भए पनि संस्थापनले भने यसलाई अटेर गरेको छ । 

विधानअुनसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवशेन गर्नुपर्ने हुन्छ । 

पछिल्लो समय कार्यवाहक दिएर आफूले कार्यकारी अधिकार नलिने सन्देश दिएका सभापति शेरबहादुर देउवा १८ दिनको सिंगापुरको उपचार गरी फर्केपछि फेरि सक्रिय भएका छन् । 

उनले विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गरी सकभर नियमित महाधिवेशन नै आगामी बैशाखमा गर्न खोजिरहेका छन् । संस्थापन इतरका केही नेताहरुलाईसमेत ललिपप देखाएर फकाउन उनी र उनको पक्ष लागेको पाइएको छ । 

तर जेन–जी आन्दोलनपछि बदलिएको परिस्थितिको आँकलन गर्दै विशेष महाधिवेशन पक्षधरले कुनै पनि हालतमा पुसभित्र नियमित वा विशेष जे भए पनि महाधिवेशन गरी नयाँ नेतृत्वसहित चुनावमा जाने अडान छाडेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ