सांसदहरूको चेतावनी - हतियार र फरार कैदी नफर्काए शान्तिपूर्ण निर्वाचन असम्भव
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
756
Shares
काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले लुटिएका हातहतियार र जेलबाट भागेका कैदीबन्दीहरू फिर्ता नल्याउँदासम्म स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन नसक्ने धारणा राखेका छन्।
जनप्रतिनिधिहरूले जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार समाजमै रहेको र हजारौँ फरार कैदीबन्दीहरूले सुरक्षा चुनौती थपेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। नेकपा (एमाले) की सांसद रुक्मिणी कोइरालाले हातहतियार र अपराधीहरू समाजमै रहेको अवस्थामा शान्तिपूर्ण निर्वाचनको सम्भावनाबारे प्रश्न गरिन्।
नेपाली काँग्रेसका सांसद युवराज शर्माले मुलुक हिंसात्मक बन्दै गएको र जेन–जीको नाममा राजनीतिक दलहरूलाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत नदिएको अवस्थामा निर्वाचनको औचित्यमाथि प्रश्न उठाए। अधिकांश सांसदहरूले सरकारले आगामी २१ फागुनमा घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न पर्याप्त तयारी नगरेको र सुरक्षाको ग्यारेन्टी गर्न नसकेको टिप्पणी गरे।
सांसदहरूको भनाइ छ कि सरकारले हतियार बरामद गर्ने र फरार कैदीबन्दीलाई तत्काल नियन्त्रणमा लिने विशेष अभियानलाई तीव्रता नदिई घोषित मितिमा निर्वाचन गराउनु सम्भव छैन।