arrow

जनप्रतिनिधि र कर्मचारीको पोषण र जीवनशैली सर्वेक्षण शुरू, लक्ष्य दीर्घकालीन रोग लाग्न नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
ktm-metro-healthcheckup.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको पोषण अवस्था, आहार व्यवहार र जीवनशैली सम्बन्धी सर्वेक्षण शुरु गरेको छ ।

महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले मंसिर १६ गतेदेखि काठमाडौं प्लाजाको दक्षिणतर्फको भवनको माथिल्लो तलामा यो कार्यक्रम चलाएको हो । 

कार्यक्रम मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ । यसमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय विभाजन गरिएको छ । २६ गते छुटेका सबैलाई सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । 

सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वाशप्रश्वाससहित दीर्घ रोगको जोखिम उच्च रहेकोले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ । 

सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्धनको नीतिगत शिफारिसका लागि तथ्य प्रदान गर्ने अपेक्षा गरिएको छ । सर्वेक्षणमा उचाइका आधारमा तौल (बीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (बायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर बडी फ्याट, भीसेरल फ्याट इन्डेक्स, फ्याट फ्री मास, टोटल बडी वाटरको प्रोफाइल तयार पारिन्छ । 

यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृति अनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन् । सर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, डिजिटल ग्याजेटहरुमा बिताउने समय, कार्य स्थलको वातावरण सम्बन्धी विवरण संकलन हुनेछ । 

मधुमेह, हेमोग्लोबिन परीक्षणबाट रक्तअल्पता जाँच गरिन्छ । खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिन्छ । 

सर्वेक्षणमा सहभागी भर्टेक्स फुड्सका अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीय स्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्वहरु धेरै पाइन्छ । 

जसकारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन् । यस्ता खानेकुराको मूल्य तुलनात्मक रुपमा सस्तो हुन्छ । आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ । 

महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने महानगरपालिकाले योजना बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ