नेपाललाई बंगलादेश बन्न दिन्नौँ, जति गाली खाए पनि धैर्य गर्छौँ: प्रधानमन्त्री कार्की [भिडियो]
राजनीतिक दल र जेन–जीको गाली खानुपर्ने अचानो भयौँ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
821
Shares
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई छिमेकी मुलुक बंगलादेशमा जस्तै भयावह राजनीतिक सङ्कट र अराजकताको स्थितिमा पुग्न नदिन सरकार सचेत रहेको बताएकी छन्। 'बाह्रखरी कथा प्रतियोगिता'का विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले चौतर्फी दबाब र आलोचनाका बाबजुद सरकारले धैर्यताका साथ आफ्नो जिम्मेवारी निभाइरहेको स्पष्ट पारिन्।
"हामी अचानो र पेण्डुलम जस्तो भयौँ" प्रधानमन्त्री कार्कीले सरकारको वर्तमान अवस्थालाई 'अचानो' सँग तुलना गर्दै राजनीतिक दल र युवा पुस्ता दुवैतर्फबाट आफूहरूले ठुलो दबाब र गाली सहनुपरेको गुनासो गरिन्। "राजनीतिक दलहरूले पनि गाली गर्छन्, जेन–जीका समूहहरूले पनि आजै छोड भन्छन्," उनले आफ्नो पीडा व्यक्त गर्दै भनिन्, "छोडौँ भने भोलि फेरि 'यिनीहरूको औकात त छोडेर हिँड्ने मात्र रहेछ' भन्ने भाष्य बनाइन्छ। हामी अहिले पेण्डुलम जस्तो अवस्थामा छौँ, कतै जाँदा पनि सुख छैन।"
निर्वाचनको वैधानिकता र युवा पुस्ताको प्रश्न पछिल्लो समय केही युवाहरूले 'निर्वाचन किन चाहियो?' भन्दै प्रश्न गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले वैधानिकता र कानुनको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताइन्। "यही सरकार चलिरह्यो भने तानाशाह हुन्छ, यिनीहरू त सत्तामा खान आएका रहेछन् भन्ने आरोप लाग्छ," उनले भनिन्, "संसारको नियम र कानुनले पनि वैधानिक प्रक्रिया (निर्वाचन) माग गर्छ, त्यसैले निर्वाचन आवश्यक छ।"
३० वटा 'जेन–जी' समूहको हैरानी प्रधानमन्त्रीले करिब २५ देखि ३० वटा फरक–फरक 'जेन–जी' समूहहरूले आ–आफ्नै माग लिएर आउँदा सरकारलाई काम गर्न निकै सकस भइरहेको बताइन्। "एउटा समूह आउँछ यो गर भन्छ, अर्को आउँछ अर्कै काम गर भन्छ," उनले भनिन्, "यी युवा समूहहरूको दबाब र राजनीतिक दलको खिचातानीका बीच हामीले निकै मिहिनेतका साथ मुलुकलाई जोगाइरहेका छौँ।"
साहित्यकारहरूलाई सम्बोधन गर्दै उनले सरकारले भोगिरहेको यो सकसपूर्ण अवस्था र वर्तमान राजनीतिक अन्योलका बारेमा पनि कथा लेख्न आग्रह गरिन्। उनले बंगलादेशमा जस्तो राजनीतिक दुर्घटना हुन नदिन र मुलुकमा कानुनी राज कायम राख्न अन्तरिम सरकार प्रतिबद्ध रहेको दाबी गरिन्।