काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर आगामी थारू राष्ट्रिय माघी महोत्सवको औपचारिक निम्तो दिएका छन्। महोत्सव मूल आयोजक समितिका संयोजक एवं सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री निवासमा पुगेर आगामी माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे।
भेटका क्रममा अध्यक्ष चौधरीले थारू समुदायका विभिन्न माग र मुद्दाहरूबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। विशेषगरी निजामती सेवामा थारू समुदायका लागि सुनिश्चित गरिएको आरक्षणको विषय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनले यसको सुनिश्चितताका लागि माग गरे।
प्रतिनिधिमण्डलको कुरा सुनेपछि प्रधानमन्त्री सुशीला कार्कीले संविधान र कानुनमा व्यवस्था भइसकेका अधिकारहरू कार्यान्वयन नहुनु दुःखद भएको बताएकी छिन्। "संविधानले दिएको अधिकार कसले र किन रोक्यो? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन," प्रधानमन्त्री कार्कीले भनिन्, "म यसप्रति चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन।" उनले थारू समुदायको अधिकार सुनिश्चित गर्न आफू सकारात्मक रहेको आश्वासन समेत दिइन्।