arrow

तरकारी आयातको ग्राफ उकालो लाग्दै: मेची भन्सारले पाँच महिनामा एक अर्ब १८ करोडको तरकारी भित्रायो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
vegetables-tarkari-2082.jpg

काठमाडौँ । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा गोलभेँडाको आयातमा अप्रत्याशित वृद्धि भएको छ। कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत साउनदेखि मङ्सिरसम्ममा भारतबाट ९३२ प्रतिशतले बढेर २६ लाख ७६ हजार ५२० किलो गोलभेँडा नेपाल भित्रिएको छ। यसरी ठूलो परिमाणमा गोलभेँडा आयात हुँदा पाँच महिनाको छोटो अवधिमै ६ करोड ८४ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।

आयातमा भएको यो वृद्धिले सरकारी राजस्वमा पनि सकारात्मक प्रभाव पारेको छ भने भन्सारले गोलभेँडाबाट मात्रै ८२ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने उक्त नाकाबाट जम्मा ३७ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको एक लाख ३८ हजार ६५० किलो मात्र गोलभेँडा आयात भएको थियो। पछिल्लो समय नेपाली भान्सामा प्रयोग हुने गोलभेँडाका लागि छिमेकी मुलुक भारतमाथिको निर्भरता निकै तीव्र गतिमा बढेको यस तथ्याङ्कले स्पष्ट पारेको छ।

गोलभेँडासँगै समग्र तरकारीको आयात ग्राफ पनि उकालो लागेको देखिएको छ। सूचना अधिकारी हुमागाईंका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा काँकडभिट्टा नाकाबाट मात्र १ अर्ब १८ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको विभिन्न तरकारी नेपाल भित्रिएको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा करिब सात करोड रुपैयाँले बढी हो, जतिबेला १ अर्ब ११ करोड ३६ लाख २३ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको थियो। यसले स्वदेशी उत्पादनको तुलनामा विदेशी तरकारीको उपभोग बढ्दै गएको सङ्केत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ