arrow

हिमाञ्चलको भीषण आगलागीमा सल्यानका दुई परिवारका नौ जनासहित १० को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
himanchal-aaglagi.jpg

काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशस्थित सोलन जिल्लामा भएको एक विनाशकारी आगलागीमा परी ९ जना नेपाली नागरिकसहित १० जनाको ज्यान गएको छ।

नगर पञ्चायत अर्कीको वार्ड नम्बर–६ मा भएको उक्त आगलागीमा परी ज्यान गुमाउने सबै नेपालीहरू कर्णाली प्रदेशको सल्यान जिल्ला शिवकुम्भ गाउँपालिका–२, टाकुरा निवासी हुन्।

आगलागीमा सल्यानका धनबहादुर विक र काशिराम विकको सपरिवारको सामूहिक निधन भएको छ। मृतकहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती कविता (३०), छोरीहरू राधा (१६), रेणुका (११) र २२ महिनाका छोरा रेञ्जन रहेका छन्।

त्यस्तै, ४२ वर्षीय काशिराम विक, उनकी श्रीमती टिका (३०), छोरी अनु (८) र छोरा सञ्जय (६) को पनि मृत्यु भएको छ। घटनामा एक नेपाली महिला घाइते भएकी छन् भने सोही भवनमा रहेका अन्य १८ नेपालीहरूले भागेर ज्यान जोगाउन सफल भएका छन्।

प्रारम्भिक अनुमानअनुसार पाँचतले काठको भवनमा बस्ने नेपालीहरूले जाडो छल्न कोठाभित्र बालेको गुँइठाबाट आगो सल्किएको थियो। काठको संरचना भएका कारण आगो तीव्र रूपमा फैलिँदा पाँचवटा भवन र आठवटा पसल पूर्ण रूपमा खरानी भएका छन्।

आगलागीका क्रममा ग्यास सिलिन्डरहरू एकपछि अर्को गरी विस्फोट हुँदा उद्धारमा थप कठिनाइ भएको थियो।

बिहान साढे ४ बजे पुगेको अग्निशमन विभागका चारवटा टोली, एनडीआरएफ, प्रहरी र स्थानीयको सहयोगमा करिब ९ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो।

स्थानीय प्रशासनले मृतकका परिवारलाई प्रारम्भिक राहतस्वरूप तत्काल २५–२५ हजार भारतीय रुपैयाँ उपलब्ध गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ