arrow

कांग्रेस संकटमा रहेको जनाउँदै  जनसम्पर्क समितिका सभापतिहरूले भने - संयमता अपनाऔँ  

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
nepali-congress-flag.jpg

काठमाडौँ । विभिन्न देशमा रहेका नेपाली कांग्रेसका जनसम्पर्क समितिहरूले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकताबद्ध बनाउन आग्रह गरेका छन् ।

१७ देशका जनसम्पर्क समितिका सभापतिहरूले संयुक्त अपील जारी गर्दै विधानअनुसार १५ औं नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।

शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौँ। मुलुकमा फागुन २१ गते निर्वाचन घोषणा भैसकेको अवस्था छ। यस्तो बेला तपाईं हाम्रो आन्तरिक बेमेललाई थाँति राखेर मुलुक र पार्टी बलियो बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ ।’ 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आम निर्वाचनको प्रक्रिया शुरू भैसकेको वर्तमान अवस्थामा एकढिक्का भएर हामी चुनावी संग्राममा होमिनुपर्दछ। हामी अहिले १५औं महाधिवेशनको प्रक्रियामा जुटेका छौं। आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनले पार्टीलाई नयाँ जीवन र ऊर्जा प्रदान गर्नेछ। यसका लागि हालै मात्र नेपाली जनसम्पर्क समितिका कतिपय देशबाट नयाँ महाधिवेशन प्रतिनिधिहरूसमेत चयन भैसक्नु भएको छ ।’ 

पार्टीको पुस १८ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत उनीहरूले जाहेर गरेका छन् । संयुक्त रूपमा विज्ञप्ति जारी गर्नेमा बालकृष्ण पाण्डे - भारत, आनन्द विष्ट- अमेरिका, युवराज गुरुङ- बेलायत, रोशन केसी- जापान, सुरेश गुङ- अस्ट्रेलिया, चोलाकान्त पंगेनी- मलेसिया, भुवानीप्रसाद तिमिल्सिना- दुबई, अर्जुन थापा साउदी अरब, शेरबहादुर रावत- बहराइन, सुभाष गुरुङ- बेल्जियम, शालिक गौतम- नेदरल्याण्ड्स, शिखर खड्का- जर्मनी, यादव बस्नेत- डेनमार्क, नवीन थपलिया- स्वीडेन, दीपिका भुसाल- इजरायल, बुद्धिप्रकाश ओली- क्यानाडा, बुद्धिसागर घिमिरे- न्यूजिल्याण्ड हुन्।

उनीहरूले भनेका छन्, ‘नेपाली जनसम्पर्क समितिका सबै देशका सदस्य र प्रतिनिधि साथीहरू एकबद्ध भई पार्टी एकतालाई अक्षुण राख्दै आम निर्वाचनमा जुट्ने र आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनलाई सफल बनाउन सक्रियतापूर्वक लागिपर्ने विश्वाससहित पुन: एकपटक पार्टी हितका पक्षमा दृढतापूर्वक उभिन हार्दिक अपील गर्दछौँ ।’ 

नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित भएर जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गर्न र एक अर्काबीचको सम्मान भावलाई स्वीकार गरी अघि बढ्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ