साताको पहिलो दिनै बजारमा हरियाली: फाइनान्स समूहमा ५.७३ प्रतिशतको उछाल
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
785
Shares
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.१२ अङ्कले वृद्धि भई २,६७२.५५ को बिन्दुमा पुगेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १.१७ प्रतिशतको बढोत्तरी हो।
आज बजारमा ३३८ कम्पनीका कुल १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिदबिक्री भएका छन्, जसबाट ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ रुपैयाँ बराबरको ठुलो कारोबार भएको नेप्सेले जनाएको छ।
आजको बजारमा सबै समूहका उपसूचकहरूमा हरियाली छाएको छ, जसमा वित्त (फाइनान्स) समूह सर्वाधिक ५.७३ प्रतिशतले बढेर लगानीकर्ताको रोजाइमा परेको छ। मूल्य बढ्ने कम्पनीहरूमध्ये सागर डिस्टिलरी लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र गुर्खाज फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।
अर्कातर्फ, आज थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा बढी नोक्सानी व्यहोरेका छन्, जसको शेयर मूल्य ८.७८ प्रतिशतले ओरालो लागेको छ। समग्रमा, कारोबार रकम र परिसूचक दुवैमा देखिएको यो वृद्धिले पूँजी बजारमा उत्साह थपेको छ।