arrow

प्रचण्ड भन्छन्- जनभावना अनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
prachANDA-10.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमेली जनताको समृद्धिको सपना र विकासको आकाङ्क्षा पूरा गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताएका छन्। 

प्रेस सेन्टर नेपाल रुकुम पूर्वले बुधबार रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनयुद्धको आधार क्षेत्रका रूपमा रहेको यस जिल्लाको विकासलाई नयाँ गति दिने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। संयोजक दाहालले यहाँको विशिष्ट भूगोल, इतिहास, संस्कृति र सबै जातजातिको भावनालाई समेटेर विकासको एउटा नयाँ र मौलिक ढाँचा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले रुकुम पूर्वका जनताको भावना र अपेक्षालाई नजिकबाट बुझेर नै आफूले यहाँबाट उम्मेदवारी दर्ता गराएको उल्लेख गरे। उनले आफ्नो मुख्य प्राथमिकता भौतिक पूर्वाधारको विस्तार, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच, कृषिको आधुनिकीकरण, स्थानीय स्तरमै रोजगारीको सिर्जना र पर्यटन प्रवर्द्धनमा केन्द्रित रहने बताए। रुकुम पूर्वलाई राजनीतिक रूपमा मात्र नभई विकासका दृष्टिकोणबाट पनि समाजवादको नमूना जिल्ला बनाउने उद्घोष गर्दै उनले समाजवादी क्रान्तिको वास्तविक आधारइलाका यहीँबाट सुरु हुने विश्वास व्यक्त गरे।

चुनावी अभियानका क्रममा रुकुमकोट पुगेका दाहालले बुधबार नै जिल्लाका सहिद परिवारहरूसँग छुट्टै भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले जनयुद्धका सहिदहरूको सपना साकार पार्न आफू प्रतिबद्ध रहेको र उनीहरूको बलिदानकै कारण देशमा ठुलो राजनीतिक परिवर्तन सम्भव भएको बताए। भेटघाटपछि उनले स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गर्दै आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र एजेन्डालाई भारी मतले विजयी गराउन अपिल समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ