arrow

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
resham-chaudhharis.jpg
तस्बिर : फाइल

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारी खारेज गरिदिएको हो ।“नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ । कानून बमोजिम गर्नु,” निर्वाचन अधिकृतको कार्यालयको निर्णयमा भनिएको छ ।

यता, सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । 

रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ । उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ शुरू भएको थियो । 

बिहीबार साँझ ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरिएको हो । उम्मेदवारको नामावली प्रकाशन भइरहेको छ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । 

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । 

शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी उनले गराए । 

देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ