आसन्न निर्वाचनमा एक थोपा रगत बग्नु भएन, कोही घाइते हुनु भएन : प्रधानमन्त्री कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
970
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको बताएकी छिन्। शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवस (सशस्त्र प्रहरी दिवस) को अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्।
प्रधानमन्त्री कार्कीले समयसँगै सुरक्षा चुनौतीहरू परिवर्तन भइरहेको उल्लेख गर्दै विगतका निर्वाचनहरूलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गरिन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सम्भावित सुरक्षा जोखिमहरूको सूक्ष्म अध्ययन गर्न र उच्च सतर्कता एवं व्यावसायिकताका साथ कार्यसम्पादन गर्न उनले सुरक्षाकर्मीहरूलाई निर्देशन समेत दिइन्।
उनले भनिन्, “निर्वाचनका लागि सबै सुरक्षा अङ्ग परिचालन गर्ने निर्णय सरकारले गरिसकेको छ। यो निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन र कोही पनि घाइते हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता छ। त्यसैले सुरक्षा व्यवस्थापनलाई सोहीअनुसार कडा र भरपर्दो बनाउनुहोस्।”
वर्तमान संक्रमणकालको अन्त्य गरी मुलुकलाई समृद्धिको दिशामा लैजान निर्वाचन अपरिहार्य रहेको चर्चा गर्दै प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायले आफ्नो व्यावसायिक धर्म निभाउँदै निर्वाचन सफल पार्नेमा विश्वास व्यक्त गरिन्।