कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युगको प्रतिनिधि : विश्वप्रकाश शर्मा [भिडियो]
आत्मालोचनासहित चुनावी मैदानमा कांग्रेस, सद्भाव र सुशासनलाई मुख्य एजेन्डा बनाइने
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
696
Shares
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
उनले अहिलेका अन्य प्रधानमन्त्रीका उम्मेदवारहरू 'भदौ २३ र २४' का पुराना पात्रहरू जस्तै रहेको टिप्पणी गर्दै कांग्रेसको उम्मेदवार भने 'माघ १' को नयाँ उज्यालो जस्तै भएको जिकिर गरे। कांग्रेसले विगतका कमीकमजोरीमा आत्मालोचना गरेर र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको उनले बताए। उपसभापति शर्माले सद्भाव, सुशासन र समुन्नति नै अहिलेको मुख्य मुद्दा भएको उल्लेख गरे।
उनले सम्बोधनका क्रममा भने, "कसैले भदौ २३ को कुरा गर्छन्, कसैले २४ को। प्रधानमन्त्रीका उम्मेदवारहरू थुप्रै छन्, तर नेपाली कांग्रेसको उम्मेदवार 'माघ १' वाला हो। सबै विषयलाई आत्मसाथ गर्दै, क्षमा मागेर र आफूलाई बदलेर पार्टीलाई नयाँ युगमा लैजान खोज्ने नेतृत्व अहिलेको आवश्यकता हो। हामी सबैलाई समेटेर मैदानमा जाँदैछौँ। अहिलेको समाजलाई सबैभन्दा बढी सद्भाव चाहिएको छ। चुनावमा जित-हार त चलिरहन्छ, तर देश बदल्ने संकल्प ठूलो कुरा हो।"
उपसभापति शर्माले कांग्रेस अब देश परिवर्तनका निम्ति ठोस योजना र आत्मालोचनासहित अघि बढिरहेको स्पष्ट पारे।