arrow

बीमाबाट रकम नपाउँदा अस्पतालका नियमित काम प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
Parbat_Hospital.jpg

पर्वत । लामो समयदेखि स्वास्थ्य बीमाको रकम नआउँदा पर्वत जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल आर्थिक सङ्कटमा परेको छ । अस्पतालले स्वास्थ्य बीमा र डायलायसिस सेवा दिएबापत तीन करोड रुपैयाँभन्दा बढी रकम अझै पाउन सकेको छैन ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलका अनुसार गत आर्थिक वर्षदेखि नै सरकारले दिनुपर्ने रकम नआएकाले अस्पतालका नियमित काम प्रभावित भएका छन् । बीमा गरेका बिरामीको उपचार गरेबापत सरकारले भुक्तानी गर्नुपर्ने भए पनि समयमा रकम नआउँदा बक्यौता बढ्दै गएको छ ।

रकम नपाउँदा औषधि र उपकरण खरिद, कर्मचारीको तलब-भत्ता र अन्य दैनिक काम चलाउन गाह्रो भएको उनले बताए । पटकपटक माग गर्दा पनि सरकारले चासो नदिएको अस्पतालको भनाइ छ ।

स्वास्थ्य बीमा गरेका बिरामी सामान्य समस्या भए पनि अस्पताल आउने भएकाले सेवा दिनैपर्ने अवस्था छ । तर भुक्तानी ढिलाइ हुँदा औषधि, ल्याब सेवा र आवश्यक सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ । हालसम्म अस्पताल व्यवस्थापन समितिको कोषबाट काम चलाइए पनि अब अवस्था झन् गम्भीर बन्दै गएको छ ।

सरकारबाट रकम नआएकै कारण औषधि खरिद प्रक्रियासमेत अवरुद्ध भएको डा. पौडेलले बताए । जिल्लामा स्वास्थ्य बीमामा आबद्ध करिब ४५ प्रतिशत नागरिकले यही अस्पतालबाट सेवा लिने गरेका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारका अनुसार स्वास्थ्य बीमा बोर्डले बिल पेश गरेपछि मन्त्रालयमा रकम मागिएको भए पनि भुक्तानी आएको छैन । यसले अस्पताल सञ्चालनमै समस्या देखिन थालेको उनले बताए ।

केही दिनअघि अस्पताल निरीक्षणमा आएकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई बीमाको रकम चाँडो उपलब्ध गराउन ज्ञापनपत्र बुझाइएको थियो ।

सो अवसरमा मन्त्री गौतमले देशभरका अस्पतालहरू यस्तै समस्यामा रहेको भन्दै बजेट व्यवस्थापनका लागि सरकारले प्रयास गरिरहेको जानकारी दिएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ