लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन पूर्वमुख्यमन्त्री शाहीको अपील
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
1.5k
Shares
हुम्ला । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लोकतन्त्र र संविधान जोगाउने निर्णायक अवसरको रूपमा लिन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस हुम्ला–सुर्खेत सम्पर्क समितिद्वारा सुर्खेतमा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता शाहीले लोकतन्त्र र संविधानमाथि देखिएको संकटको सामना गर्न कांग्रेसलाई विजयी गराउन सबै नागरिकलाई अपील गरे ।
उनले संविधान २०७२ बाट प्राप्त अधिकारहरू जोखिममा पर्दै गएको उल्लेख गर्दै यो निर्वाचन लोकतान्त्रिक पद्धति पुनःस्थापना गर्ने ऐतिहासिक अवसर भएको बताए । राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संघीयता र समावेशितालाई संस्थागत गर्दै विकास र सुशासन कायम गर्नु नेपाली कांग्रेसको मूल एजेन्डा हो', उनको भनाइ थियो।
युवा तथा ‘जेन–जी’ पुस्तालाई विशेष सम्बोधन गर्दै नेता शाहीले देशको भविष्य सुरक्षित गर्न सचेत र जिम्मेवार भएर मतदान गर्न आग्रह गरे । साथै सबै हुम्लाबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई मताधिकारको सही प्रयोग गर्दै कांग्रेसका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे ।
सुर्खेतको बगैंचा कटेज, घण्टाघर लाइनमा सम्पन्न कार्यक्रम नेपाली कांग्रेस हुम्ला–सुर्खेत सम्पर्क समितिका अध्यक्ष चक्रबहादुर शाहीको अध्यक्षतामा तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा मन्त्री विजया बूढा, नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समिति सदस्य पदमबहादुर लामा, नेपाली कांग्रेस हुम्लाका सभापति एवम् अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंह, कोषाध्यक्ष बबिता शाही, सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, ताजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापा, महासमिति सदस्य रिता लामा, महाधिवेशन प्रतिनिधि एवम् चंखेली–४ का वडा अध्यक्ष पदकबहादुर शाहीलगायत सुर्खेतमा रहेका कांग्रेससम्बद्ध हुम्लाबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।