arrow

विश्वप्रकाशको व्यङ्ग्य - करारमा कर्मचारी नियुक्ति सुनेको थिएँ, रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
BISHWA-WW.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै कडा व्यङ्ग्य गरेका छन्। शुक्रबार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बन्ने कुरा कुनै सामान्य कर्मचारी नियुक्त गरेजस्तो नहुने टिप्पणी गरे। 

उनले देशको सर्वोच्च कार्यकारी पदमा पुग्नका लागि बलियो राजनीतिक जग र धरातल हुनुपर्नेमा जोड दिए। विभिन्न राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै शर्माले परिवर्तनको दाबी गर्ने कतिपय दलहरू अहिले पनि जनताको भावनाअनुसार चल्न नसकेको आरोप लगाए। नेपाली कांग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवाको काँधमा जिम्मेवारी सुम्पेर देशका समस्याहरूको गहिरो विश्लेषण गरिरहेको उनले दाबी गरे।

उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि तथ्यसहित आलोचना गरे। एमालेले 'जेन-जी' आन्दोलनपछि विधान संशोधन गरेर दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाउँदै आफ्ना नेतालाई तेस्रो पटक पनि अध्यक्ष बन्न पाउने बाटो खोलेको उनले बताए। त्यस्तै, माओवादीले नाम फेरेर २९ वटा पार्टीको मोर्चा बनाएको दाबी गरे पनि वास्तविक परिवर्तन कांग्रेसले मात्र ल्याएको उनको तर्क थियो। 

"हामीले ५० वर्षमुनिका युवाको नेतृत्वमा सारा नेपाली समस्याको एमआरआई गरेर सुधारको बाटोमा लागेका छौँ, तर रास्वपाले भने करारमा प्रधानमन्त्री नियुक्त गर्ने सल्लाह गर्दैछ," उनले भने। उनले प्रधानमन्त्री जस्तो पदका लागि राजनीतिक फाउन्डेसन चाहिने बताउँदै गगन थापाले गणतन्त्रका लागि सडकमा संघर्ष गर्दाको जग अहिलेको नेतृत्वमा रहेको स्मरण गराए।

उपसभापति शर्माले मुलुकको लोकतान्त्रिक व्यवस्था स्थापित गर्न लामो समय संघर्ष गरेको नेतृत्वले नै अहिले पार्टी चलाइरहेको उल्लेख गरे। उनले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेसलाई नै मतदान गर्न सबैमा अपिल समेत गरे। परिवर्तनका कुरा गर्ने नयाँ दलहरूसँग कुनै ठोस आधार नभएको भन्दै उनले कांग्रेसले मात्र देशलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरे। गगन थापा र आफूहरू मिलेर पार्टीलाई नयाँ ऊर्जा दिएको बताउँदै उनले अबको निर्वाचनमा कांग्रेसको एजेन्डाले नै जित हासिल गर्ने दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ