राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
द्रुतमार्गको नयाँ मोड: खोकना विवाद छोडेर फर्सिडोलबाट शुरु हुने भयो 'फास्ट ट्र्याक'
द्रुतमार्गको गाँठो फुकाउँदै प्रधानमन्त्री कार्की, खोकना विवाद थाती राखेर वैकल्पिक योजनामा जान निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
936
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवादलाई थाती राख्दै वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन्। ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा र स्थानीयको आस्थामा असर पर्ने भन्दै विरोध भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निकास खोज्न निर्देशन दिएकी हुन्।
गत माघ १३ गते निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमणका क्रममा पनि उनले विकास गर्दा स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी थिइन्। प्रधानमन्त्री कार्कीले आवश्यक परे सुरु विन्दु परिवर्तन गरेर भए पनि राष्ट्रिय गौरवको यो आयोजना चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छन्।
प्रधानमन्त्री कार्कीले आज अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधारमन्त्री माधव चौलागाईँ, योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र प्रधान सेनापति अशोकराज सिग्देलसहितका उच्च अधिकारीहरूलाई बोलाएर छलफल गरिन्। छलफलमा नेपाली सेनाले आयोजनाको प्रगति र समस्याबारे ब्रिफिङ गरेको थियो।
प्रधानमन्त्रीले विकास निर्माणमा अनावश्यक ढिलासुस्ती नगर्न र विवादमा मात्र अल्झिएर नबस्न अधिकारीहरूलाई सचेत गराइन्। "विवाद भयो भने अनिश्चितकालसम्म त्यहीँ अल्झिएर हुँदैन। विकल्प खोजेर अघि बढ्नुपर्छ," उनले भनिन्, "अब डीपीआर संशोधन गरौँ। खोकनामा कुरा मिल्दैन भने जहाँ मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौँ।"
ठूलो लगानीको आयोजना लम्बिँदै जाँदा राज्यलाई थप आर्थिक बोझ पर्ने भएकाले चाँडो सञ्चालनमा ल्याउनुपर्ने प्रधानमन्त्रीको धारणा थियो। उनको निर्देशनपछि अब खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क सङ्कलन गृह) निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन हुने भएको छ।