arrow

पश्चिमी वायुको प्रभावले हिमाली भेगमा हिमपात र तराईमा हुस्सुको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भए पनि बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भागमा सामान्य बदली हुनेछ भने लुम्बिनीसहित सुदूरपश्चिमका तराई र अन्य पहाडी भागमा आंशिक बदली हुने देखिन्छ।

देशका अन्य भागमा भने मौसम सफा रहनेछ। साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

आज राति पनि तराईका केही स्थानमा तुवाँलो लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुनेछ भने बाँकी उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुनेछ। देशका अन्य स्थानमा भने मौसम सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले तराईमा हुस्सु लाग्ने र केही पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ