पश्चिमी वायुको प्रभाव: उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
601
Shares
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै तराईका कतिपय भू–भागमा हुस्सु र तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले आंशिक बदली रहे पनि देशका अन्य भागमा भने मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने देखिएको छ भने हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने सम्भावना छ। पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी स्थानको मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुनसक्ने देखिएको छ।
आज राति पनि तराईका केही क्षेत्रमा तुवाँलोको प्रभाव कायमै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत हिमाली भागमा बादल लाग्ने तथा मधेस प्रदेश र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
तराईमा लाग्ने हुस्सु र हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्न सक्ने तथा दृश्यता कम हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा यातायात सञ्चालन, कृषि कार्य र दैनिक गतिविधिमा संलग्न रहँदा सचेत रहन महाशाखाले सर्वसाधारण र सरोकारवाला सबैमा अनुरोध गरेको छ।